काठमाडौं । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकारको गठन प्रक्रिया सँगसँगै सुरु भएको छ । निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ । माघ ५ गते शुक्रबार प्रदेश प्रमुखको सपथग्रहणलगत्तै निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन विवरण पेस गरिसकेको छ । प्रदेश प्रमुखहरूले सांसदहरूलाई सपथग्रहण गराइसकेका छन् । निर्वाचन विवरण प्राप्त भएको मितिले कति दिनभित्र प्रदेश सभाको बैठक बस्ने र कति दिनभित्र प्रदेश सरकारको गठन भइसक्ने ? भन्ने कुरा संविधानमै उल्लेख छ । माघ महिनाभित्र प्रदेश सरकारहरू गठन भइसक्ने छन् ।
दलहरू यतिबेला राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकार गठनको जोडघटाउमा छन् । कुन प्रदेशमा कुन पार्टीको सरकार गठन हुन्छ ? भन्ने प्रश्नको उत्तर लगभग आइसकेको छ । प्रदेश २ बाहेक अरु प्रदेशमा कम्युनिस्ट गठबन्धनको निकै ठूलो बहुमत छ । प्रदेश २ मा मधेसी गठबन्धनको टाइट बहुमत छ । कम्युनिष्टहरुको गठबन्धनले प्रदेश ६ र ७ माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने प्रदेश १, २, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउने गरि सहमति भएको छ । माओवादीले प्रदेश ७ मा वीरमान चौधरी र महेन्द्र शाहीलाई प्रदेश ६ को मुख्यमन्त्री बनाउने भएको छ ।
प्रदेश २ मा मधेसी गठबन्धनको टाइट बहुमत छ । कम्युनिष्टहरुको गठबन्धनले प्रदेश ६ र ७ माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने प्रदेश १, २, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउने गरि सहमति भएको छ । माओवादीले प्रदेश ७ मा वीरमान चौधरी र महेन्द्र शाहीलाई प्रदेश ६ को मुख्यमन्त्री बनाउने भएको छ ।
एमालेले प्रदेश १, ३, ५ मा क्रमशः शेरधन राई, अष्टलक्ष्मी शाक्य र शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने लगभग निश्चित छ । त्यस्तै प्रदेश ४ मा किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङमध्ये एकलाई बनाउने भएको छ । निर्वाचन हारेका बामदेव गौतमले किरणका लागि अडान लिए उनी नै मुख्यमन्त्री बन्ने छन् । प्रदेश २ मा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु अघि संघिय समाजवादी फोरमसँग छलफल गर्ने एमाले स्रोतले बताएको छ । राष्ट्रिय सभामा भने कुन–कुन पार्टीले कति कति सिट प्राप्त गर्छन् ? भन्ने स्पष्ट तस्बिर आइसकेको छैन । एकल संक्रमणीय मत प्रणालीका कारण कुन पार्टीले कति सिट हासिल गर्छन् ? भन्ने स्पष्ट तस्बिर आउन नसकेको हो । हरेक प्रदेशबाट आठ–आठजनाको दरले निर्वाचित हुने प्रावधान छ । जसमध्ये दलित र अल्पसंख्यक एक–एकजना, महिला र खुला तर्फबाट तीन–तीनजना निर्वाचित हुनेछन् । एक–एक सिट रहेको दलित र अल्पसंख्यकको सिट प्रदेश २ बाहेकका अन्य प्रदेशमा वाम गठबन्धनले हात पार्ने निश्चित छ । यी ६ वटै प्रदेशमा कम्युनिस्ट गठबन्धनको ६० देखि ८० प्रतिशतसम्म मत छ । तर प्रदेश २ मा भने कुनै पनि दलको ५० प्रतिशत मत छैन । मधेसी गठबन्धनको करिब ४०, कम्युनिस्ट गठबन्धनको करिब ३५ र नेपाली कांग्रेसको करिब २५ प्रतिशत मत छ । यसर्थ दलित र अल्पसंख्यकका दुईवटा सिट मधेसी गठबन्धनले हात पार्ने झिनो सम्भावना छ ।
महिला र खुलातर्फ
महिला र खुलातर्फ तीन–तीनवटा सिट छन् । एकल संक्रमणीय आधारमा निर्वाचन हुने भएकाले एक सिट हात पार्न ३३ प्रतिशत मत आवश्यक हुन्छ । नेपाली कांग्रेससँग प्रदेश ४ र ७ मा ३३ प्रतिशतभन्दा बढी मत छ । यसर्थ, प्रदेश ४ मा नेपाली कांग्रेसले एक महिला र एक खुला तथा प्रदेश ७ मा पनि एक महिला र एक खुला सिट गरी कुल चारवटा सिट हासिल गर्ने अवस्था छ । वाम गठबन्धनले प्रदेश ४ मा दुई महिला र दुई खुला, तथा प्रदेश ७ मा पनि दुई महिला र दुई खुला गरी आठवटा सिट हासिल गर्ने अवस्था छ ।
प्रदेश ६ का सबै सिट कम्युनिस्ट गठबन्धनले जित्ने अवस्था छ । प्रदेश १, ३ र ५ मा कम्युनिस्ट गठबन्धनले ले ६–६ वटा जित्ने अवस्था छ भने बाँकी दुई–दुईवटा सिटमा साना पार्टीको भूमिका निर्णायक हुनेछ । साना पार्टीहरूको साथ पायो भने प्रदेश १, ३ र ५ बाट पनि कांग्रेसले दुई–दुई सिट जित्ने सम्भावना रहन्छ ।
प्रदेश १ मा खुला र महिलातर्फ एक–एक सिट हात पार्न २३ सय ५० मत आवश्यक पर्छ । नेपाली कांग्रेससँग २६ सय १० भोट छ । प्रदेश ३ मा खुला र महिलातर्फ एक–एक सिट हात पार्न २३ सय ९२ मत आवश्यक पर्छ । नेपाली कांग्रेससँग २२ सय १४ भोट छ । कांग्रेसलाई १८० मत अपुग देखिन्छ । नेमकिपासँग १३२, विवकेशीलसँग १४४, नयाँ शक्तिसँग १३२ र राप्रपासँग ८४ भोट छ ।
प्रदेश ५ मा खुला र महिलातर्फ एक–एक सिट हात पार्न दुई हजार २३ मतको आवश्यकता पर्छ । नेपाली कांग्रेससँग दुई हजार चार मत छ । २० मत अपुग हुन्छ । फोरमसँग ४३८, राप्रपासँग ४८, राजपासँग ५४, नयाँ शक्तिसँग १८ भोट छ ।
प्रदेश ६ मा खुला र महिलातर्फ एक–एक सिट हात पार्न ११ सय ५३ मत आवश्यक पर्छ । नेपाली कांग्रेससँग एक हजार २६ भोट छ । नपुग एक सय २७ मत खोज्न सक्ने अवस्थामा नेपाली कांग्रेस छैन ।
प्रदेश २ मा खुला र महिलातर्फ एक–एक सिट हात पार्न २५ सय नौ भोटको आवश्यकता पर्छ । नेपाली कांग्रेससँग २३ सय ३२ भोट छ । फोरम र राजपासँग ४५ सय भोट छ । वाम गठबन्धनसँग तीन हजार २५ भोट छ । प्रदेश २ को कुल भोट ९८ सय ८८ हो । त्यसैले नेपाली कांग्रेसले केही मत लिन सक्यो भने यहाँको स्थिति अनुमान गरेभन्दा फरक पनि आउन सक्छ । यसरी विश्लेषण गर्दा नेपाली कांग्रेसले कम्तीमा सात सिट र बढीमा १२ सिट लिन सक्ने देखिन्छ । तर प्रत्येक प्रदेशमा चारजना उम्मेदवार उठाउने गरी कांग्रेसले तयारी गरेको छ । तरुण खबरमा खबर छ ।