इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्त गर्दै

इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्त गर्दै

काठमाडौं । नेपाली न्यायालयको इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशहरु खुला परीक्षाबाट नियुक्त हुने भएका छन् । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम पहिलोपटक खुला परीक्षाबाट ३० जना जिल्ला न्यायाधीश छनौट गरिन लागिएको छ ।
जिल्ला न्यायाधीशका लागि माघ १३ देखि १६ गते सम्म परीक्षा सञ्चालन हुँदैछ ।

न्याय सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन प्रकाशित गरी जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको थियो ।
जिल्ला न्यायाधीशका लागि रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा ३ वर्ष काम गरेका अधिकृतहरुमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाका आधारमा जिल्ला न्यायाधीश नियुक्त गरिने व्यवस्था पहिलो पटक गरिएको हो ।

जिल्ला न्यायाधीशका लागि न्याय सेवाका १२३ जना उप–सचिव प्रतिस्पर्धामा उत्रिएका छन् । न्याय सेवा आयोगले आह्वान गरेको आवेदन अनुसार आन्तरिक खुला समूहमा १२३ जनाले आवेदन दिएका छन ।

आन्तरिक खुला समूहका लागि कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा ३ वर्ष काम गरेका व्यक्तिले आवेदन दिन पाउने छन् । आन्तरिक खुला समूहबाट १५ जना छनौट हुनेछन् ।

यस्तै खुला समूहबाट ८ जना भर्ना हुनेमा ४१० जनाको आवेदन परेको छ । अन्य समूहबाट आवेदन दिएका उम्मेदवारले समेत खुलाबाट फारम भरेको आयोगले जनाएको छ ।

दुई जनाको कोटा रहेको महिला समूहमा ४७, आदिवासी र जनजाति समूहमा ६१, मधेसी समूहमा ४९ र १ जनाको कोटा रहेको दलित समूहबाट ३ जनाले जिल्ला न्यायाधीशका लागि आवेदन दिएको न्याय सेवा आयोगले जानकारी दिएको छ ।