काठमाडौँ, चैत २६। उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपालको लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय माध्यामिक विद्यालयको ‘८० औँ विशेष वार्षिकोत्सव समारोह’लाई आज यहाँ सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयको शिक्षालाई समयानुकूल बनाउन सबै पक्षको ध्यानाकर्षणसमेत गराए ।उपराष्ट्रपति पुनले सामुदायिक विद्यालयमा देखिएका समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षाका लागि सरकार तथा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्ने बताए ।
नयाँ संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको उल्लेख गर्दै उनले शिक्षाको पहुँचबाट वञ्चित रहेका बालबालिकालाई उचित शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्दै विश्व सुहाउँदो प्रतिस्पर्धी गुणस्तरीय शिक्षा दिनका लागि सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताए ।
उपराष्ट्रपति पुनले शिक्षित जनशक्ति विदेश पलाएन नभएर राष्ट्रपति समार्पित हुने वातावरण निर्माणका लागि नेपालको वर्तमान शैक्षिक प्रणालीमा सुधारको खाँचो औँल्याए । उनले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ सबै पक्ष केन्द्रित बन्नुपर्ने धारणा व्यक्त गरे ।
उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँचयोग्य बनाई निःशुल्क बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले समान शिक्षा प्रणाली स्थापित गर्न नीजि शिक्षालाई समय क्रमअनुसार नियमन गर्दै लैजानुपर्ने बताए ।
नागरिकका मौलिक हकका यस्तो अत्यावश्यक क्षेत्रमा व्यापार मौलाउनु ज्यादै दुःखद् भएको बताउँदै उनले शिक्षाका नाउँमा भइरहेका व्यापार द्वन्द्व, अस्थिरता, अशान्ति, भ्रष्टचार, अनियमितता एवम् संघर्षको मूल कारण बनिरहेको टिप्पणी गरे ।
संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको सन्दर्भ कोट्याउँदै उपराष्ट्रपतिले विद्यालयय शिक्षा क्षेत्रको व्यवस्थापन र अनुगमन सम्पूर्ण स्थानीय तहको जिम्मेवारीमा रहकाले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा लागू गर्ने सुन्दर अवसरको सदुपयोग गर्न सबै पक्षको ध्यानाकर्षण गराए ।
उनले भने, “यस विद्यालयलाई पुनः एकपटक देशकै नमूना विद्यालय बनाउन, यसको गौरवमय विरासतलाई जोगाउन स्थानीय सरकारले विशेष ध्यान दिनेछ ।”
उपराष्ट्रपति पुनले भने, “सम्पन्न परिवार र विपन्न परिवारहरुको फरक शिक्षा, फरक स्कूल । यस्तो विभेदपूर्ण हाम्रो शिक्षा प्रणालीले समाजमा दरार उत्पन्न गराइरहेको छ ।”रासस