गैँडाको आक्रमणबाट चितवनमा पर्यटक घाइते

गैँडाको आक्रमणबाट चितवनमा पर्यटक घाइते

चितवन,चैत २५। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा उद्धारका लागि पुग्नुभएका निकुञ्जका गेम स्काउट दीपक कुमालका अनुसार घाइते हुनेमा अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो रहेका छन् । विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ भने महतोको अवस्था खतरामुक्त रहेको कुमालले बताए । अन्य दुई पर्यटक भने सुरक्षित रहेको बताइएको छ ।

डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो । घटना लगत्तै निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी, पथ प्रदर्शक उद्धारका लागि घटनास्थल पुगेका थिए ।रासस