सबै प्रदेश सभा सदस्यले लिए सपथ

सबै प्रदेश सभा सदस्यले लिए सपथ

प्रदेश नम्बर 

प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ ।
प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो ।

सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिनुभयो । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट हुनुभएका सरावगीको जन्म विसं २००० चैत ३० गते झापाको भद्रपुरमा भएको हो ।

शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।

शपथमा जे देखियो

मञ्चमा १ नं प्रदेशका विशिष्ट व्यक्तिको तस्वीर राखिएको थियो । सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो । त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।

शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा हुनुहुन्थ्यो । कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा हुनुहुन्थ्यो । एक पुरुष सदस्यले टाउकामा फेटा बाँध्नुभएको थियो । संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा हुनुहुन्थ्यो । रासस

प्रदेश नम्बर 

प्रदेश २ का साँसदहरुले जनकपुरमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल उद्योग वाणिज्य संघको राजर्षीजनक सभागृहमा आयोजित समारोहमा १ सय ७ सदस्य सहभागी थिए ।

जेष्ठ साँसद ७५ वर्षीय ललनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले र जेष्ठ सदस्य चौधरीले १ सय ६ सदस्यलाई शपथ गराएका हुन् । सपथ समारोहमा प्रदेश प्रमुख कायस्थले पहिलो अधिवेशन २१ गते हुने जानकारी गराए ।

शपथ ग्रहणको क्रममा मातृभाषामा शपथ ग्रहणको व्यवस्था गर्नुपर्ने भन्दै केहिबेर विवाद भएको थियो । होहल्ला भएपछि मातृभाषामा सपथको व्यवस्था गरिएको थियो । ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा सपथ लिए ।

प्रदेश नम्बर ३

प्रदेश ३ का प्रदेश सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

सुरुमा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराएकी थिइन् । त्यसपछि पौडेलले प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका थिए ।

प्रदेश ३ को पहिलो बैठकको समय भने निश्चित भइसकेको छैन ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ का सांसदहरुले सपथ लिएका छन्।

पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभा सदस्यलाई सपथ खुवाएका थिए।
यसअघि प्रदेश प्रमुख बाबुराम कुँवरले श्रेष्ठलाई सपथ खुवाएका थिए।

प्रदेश सभाका सबै सांसदले नेपालीमा सपथ लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ दाहालले जानकारी दिए।  प्रदेश नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन्।

प्रदेश नम्बर ५

निकै तामझामका साथ प्रदेश नम्बर ५ का संसदको अस्थायी मुकाम बुटवलमा शपथ भएको छ । प्रदेश नं. ५ का ८७ जना सांसदमध्ये ८५ जनाले एकैसाथ शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले आझै पदभार ग्रहणगरेपछि शपथ स्थलमा पुगेर जेष्ठ सदस्ष्य बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । जेष्ठ सदस्य पोखरेलले बाँकी ८४ जना सांसदलाई एकसाथ शपथ खुवाएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघको सभाहललाई सजिसजाउ बनाइएको थियो । विहान साढे ११ बजेदेखि शुरु भएको सपथ समारोह झण्डै एकघण्टा चलेको थियो । शपथ समारोहमा रुपन्देहीबाट निर्वाचित प्रतिनिधिसभाका पाचै सांसद तथा पूर्व सांसदहरु सहभागि थिए ।

प्रदेश नम्बर ६

यस्तै प्रदेश नम्बर ६ मा पनि प्रदेश प्रमुख दुर्गाकेशर खनालले पदबहाली गर्दै ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाउनु भएको छ । खनालबाट सफथ लिनुभएका शाहीले अन्य ३९ सांसदलाई शपथ गराउउनु भएको छ । प्रदेश ६ मा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद रहेका छन ।

प्रदेश नम्बर ७

प्रदेश नम्बर ७ को शपथ ग्रहण पनि ढिला गरी सम्पन्न भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी पुग्दा शपथ ढिला भएको हो । प्रदेश प्रमुख मल्ले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउउनु भएपछि शाहले ५२ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउनु भएको छ । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य रहेका छन ।