पार्टी एकता संयोजन समिति बैठकः कार्यदलको प्रतिवेदन अनुमोदन

पार्टी एकता संयोजन समिति बैठकः कार्यदलको प्रतिवेदन अनुमोदन

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्नेसमेत सहमति गरेको बताउनुभयो ।

एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा नेता गिरिराजमणि पोखरेल, भीमबहादुर रावल, वर्षमान पुन, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेको सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

पार्टी एकताका लागि दुई दलको नेतृत्वको बीचमा अझ केही थप छलफल र गृहकार्य गरेर वैचारिक र सांगठनिक पक्षमा आवश्यक गृहकार्य गर्न पछि कार्यदल गठन गर्ने समेत सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले नेता सुवास नेम्वाङले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने निर्णयसमेत भएको छ ।