सरकारी अस्पतालमै यस्तो झेल : गलत रगत दिँदा दुबै मृगौंला फेल

सरकारी अस्पतालमै यस्तो झेल : गलत रगत दिँदा दुबै मृगौंला फेल

काठमाडौं । भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुको दुवै मृगौलाले काम गर्न छोडेको छ।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विपरित समूहको रगत चढाएकै कारण उनी जीवन मरणको दोसाँधमा छिन्। अहिले उनी आइसियू कक्षको एक नं. बेडमा छट्पटाई रहेकी छन्। ‘ओ पोजिटिभ’ रगत दिनुपर्नेमा भेरी अंचल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ‘बी पोजिटिभ’ समूहको रगत दिएपछि रुमाको दुवै मृगौलाले एकैसाथ काम गर्न छोडेको हो।

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ। मुख सुनिएको छ, सहन नसक्ने गरि पेट दुख्न थालेको छ भने शरिरका अन्य भागमा पनि दुखाई भएको छ। ‘शुक्रबार बिहान देखि रुमाको स्वास्थ्य अवस्था झनै जटिल भएको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले भने।

‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिन प्रतिदिन जटिल बन्दै गएको छ,’ उनले भने। आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च अहिलेसम्म अस्पतालले नै ब्यहोरिरहेको छ।

यहाँ थप उपचार सम्भव नहुने भन्दै चिकित्सकले रेफर गर्ने तयारी गरेको छ। तर, केही आशा अझैँ बाँकी रहेकोले उनको शरिरको डाइग्नोसिस भइरहेको डा. आचार्यले बताए। रुमालाई काठमाडौँस्थित बीर अस्पतालमा रेफर गर्ने तयारी भइरहेको उनले बताए। ‘अस्पतालका डाक्टर सा’वहरुले रेफर गरिसक्नु भएको छ तैपनि केही गर्न सकिन्छ की भनेर थप डाइग्नोसिस गरेर हेर्दैछौँ,’ उनले भने।

अस्पतालका कर्मचारीको लापरवाहीले रुमाको स्वास्थ्य बिग्रिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकार गरेका छन्।

उनले चिकित्सकको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको रगत समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवै जनाको गल्ती भएको बताए। ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको आधा–आधा गल्ती देखिन्छ,’ उनले भने।

यसरी भयो घटना
महिनावारी हुँदा अत्याधिक रक्तश्राब भएपछि पुस २१ गते २२ वर्षीया रुमा थारुलाई परिवारका सदस्यले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्याए। अस्पतालका चिकित्सकले उनलाई गाइनालोजी विभागमा भर्ना गरे। भर्ना भएकै रात उनलाई ‘ओ पोजिटिभ’ रगत दिइयो। त्यस रात उनलाई केही राहत मिल्यो।

अस्पतालका स्वास्थ्यकर्मीले पुस २२ गते बिहान उनलाई एक प्वाइन्ट रगत दिनुपर्ने सल्लाह दिए, उनका बाबु राजु रगत लिन नेपाल रेड्क्रस सोसाइटीले संचालन गरेको क्षेत्रीय रक्त संचार केन्द्रमा गए। तर, उनलाई ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ ग्रुपको रगत दिएर पठाइयो।

‘म सँगै गएका अर्र्को ब्यक्तिलाई ओ र मलाई ‘वी पोजिटिभ’ ग्रुपको रगत दिएर पठाइयो, मैले रगतको पोका दिनासाथ कुन ग्रुपको रगत हो भनेर नहेरेर स्टाफ नर्सले रगत चढाउनु भयो, त्यसको केहीबेरमै छोरीको शरिरमा फोकाहरु देखियो, त्यसपछि मलाई जानकारी नदिएर अस्पतालका डाक्टरहरुले छोरीलाई आइसियूमा भर्ना गरिदिए,’ आइसियू कक्ष बाहिर भेटिएका रुमाका बाबु राजुले भने।

चिकित्सकले दिएको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत रगत चढाउने भेरी अंचल अस्पतालका स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले जानकारी दिए।

डा. आचार्यले बिरामीले पाएको दुखको क्षतिपूर्ती भर्न नसकिए पनि बिरामीको निशुल्क उपचार अस्पताल प्रशासनले गर्ने बताए। ‘बिरामीको उपचार गरेर पूरानै अवस्थामा फर्काउन हामी हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘बिरामीले पाएको दुख र उनको बिग्रेको स्वास्थ्यको क्षतिपूर्ती दिन नसके पनि उपचार अस्पतालले नै गर्ने छ।’

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीले स्वास्थ्य बिग्रिए पनि अस्पताल प्रशासनले उनका बाबु, आमालाई रुमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएको थिएन। गाइनालोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो भन्ने जानकारी नदिएको रुमाका बाबु राजुले बताए।

उनले आफूलाई छोरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी नभएको बताए। ‘छोरीको स्वास्थ्य अवस्थाका बारेमा अस्पताल प्रशासनले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’ उनले भने।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले पनि अहिलेसम्म घटना गोप्य राखेको बताए। उनले स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने आशाले घटनालाई गोप्य राखेको बताउँदै अब भने घटना लुकाउन नसकिने अवस्था आइसकेको बताए। ‘अहिलेसम्म घटना गोप्य राखेका थियौँ, अब गोप्य राख्न सक्ने अवस्था नै रहेन,’ डा. आचार्यले भने।

सुपरिटेन्डेन्ट सहितलाई कारवाही माग
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, बार बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी, शिक्षक प्रभु थारु लगायतको टोलीले रुमाको स्वास्थ्य अवस्था बुझेको छ। विपरित ग्रुपको रगत दिएकै कारण रुमाको दुबै मृगौला बिग्रिएको भन्ने सूचना पाएपछि आफूहरु आएको बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरीले बताए।

उनीसहितको टोलीले बिहीवार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरेको छ। छलफलका क्रममा अस्पतालकै लापरवाहीले रुमाको दुवै मृगौलाले काम गर्न छोडेको निष्कर्ष निस्केको प्रमुख चौधरीले बताए। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

रगत दिने ब्लड बैंकका कर्मचारी, बिरामीको शरिरमा रगत चढाउने स्टाफ नर्स, गाइनोलोजी विभागका प्रमुख, सुपरिटेन्डेन्टलाई कारवाही र बिरामीको निशुल्क उपचार तथा परिवारजनलाई क्षतिपूर्ती दिनुपर्ने माग गरेको उनले बताए। ‘बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेलाई हामीले कदापी उन्मुक्ति दिने पक्षमा छैनौँ,’ उनले भने, ‘कारवाही भएन भने हामी पछि हट्ने छैनौँ।’