पोखरा,चैत १९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रेसलाई सङ्कुचन गर्न नहुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५ अर्पण समारोहमा उनले प्रेसको सङ्कुचनले लोकतन्त्रलाई रक्षा नगर्ने उल्लेख गरे ।सो अवसरमा पूर्वराष्ट्रपति यादवले वरिष्ठ पत्रकार किशोर नेपाललाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट सम्मान गरे । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
लोकतन्त्रको रक्षाका लागि सरकार तथा प्रतिपक्ष दुवैको महत्वपूर्ण भूमिका हुने बताउँदै पूर्वराष्ट्रपति यादवले पहाड र मधेशलाई एकाकार बनाएर लैजानुपर्ने धारणा राखे ।नेपालको लोकतान्त्रिक गणतन्त्र संसारको नमूना पद्धति भएको बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै लोकतन्त्रको विधिअनुसार अघि बढ्नुपर्ने धारणा राखे ।‘विधिअनुसार चले देश अघि बढ्छ, देशको भविष्य सुन्दर छ’, पूर्वराष्ट्रपति यादवले भने, ‘लोकतन्त्रको संस्थागत विकासमा राजनीतिक दल, सञ्चारजगत्, नागरिक समाज सबैको महत्वपूर्ण भूमिका हुन्छ ।’
जलवायु परिवर्तनको असरसँगै बर्षेनी तापक्रम बढ्दै गइरहेका अवस्थामा पानीका मुहान सुक्ने क्रम बढिरहेको चर्चा गर्दै राष्ट्रपति यादवले चुरे क्षेत्रमा भइरहेको दोहन, बाटो खन्ने नाममा बढ्दो डोजर तथा स्काभेटर आतङ्क चुनौतीका रुपमा देखिएको उल्लेख गरे ।पूर्वराष्ट्रपति यादवले पत्रकार नेपालले समाचार लेखनका साथै देशको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको प्रशंसा गरे । राष्ट्रियसभा सदस्य बृन्दा रानाले स्वतन्त्र प्रेस विरुद्धमा विभिन्न षडयन्त्र भइरहेको बताउँदै प्रेसमाथिको नियन्त्रणले लोकतन्त्रलाई कमजोर पार्ने बताए ।
बन्दै गरेका कानूनमा प्रेसलाई नियमनको नाममा नियन्त्रण गर्न खोजिएको उनको भनाइ छ । प्रेस स्वतन्त्रता सेनानी एवं व्यक्तित्व छनोट समितिका संयोजक बद्रीविनोद प्रतीकले नेपाली पत्रकारिताको इतिहासमा वरिष्ठ पत्रकार किशोर नेपालको विशिष्ट योगदानको कदर गर्दै सम्मानका लागि छनोट गरिएको बताए ।
सम्मानित व्यक्तित्व किशोर नेपालले विभिन्न नाममा हुने स्वतन्त्र प्रेस विरोधी गतिविधि रोकिनुपर्ने धारणा राखे । पोखरा प्रकृतिको सुन्दर राजधानी भएको चर्चा गर्दै उनले साँघुरिँदै गएको फेवातालको संरक्षणमा तीनवटै तहका सरकारको समन्वय आवश्यक भएको धारणा राखे ।