अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु

काठमाडौँ ,चैत १९। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ ।

पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिए ।उनका अनुसार धावनमार्ग मर्मतपछि आज बिहान ८ बजेदेखि नियमित उडान अवतरण भइरहेको छ । बिहान पहिलो नेपाल एयरलाइन्सको न्यारो बडी एयरबस विमानस्थलमा अवतरण गरेको थियो भने जेट एयरवेज उडेको थियो ।त्यसपछि क्रमशः आन्तरिकतर्फका उडान पनि सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ ।

मर्मतका लागि विमानस्थल यही चैत १८ देखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द हुनेछ । पहिलो दिन धावनमार्गको करीब ८० मिटर पिस परिवर्तन गरिएको क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन हुने विमानस्थलले जनाएको छ । मर्मतको अवधि अर्थात् (१ अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा रहँदै आएको थियो ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ ।सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइनेछ ।

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बरमाा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो ।विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । गत जेठ ७ गतेदेखि विमानस्थल दैनिक २१ घण्टा र त्यसको दुई महीनापछि दैनिक २२ घण्टा चल्दै आएको छ ।