राप्रपा संयुक्तको वैधानिकता नै धरापमा

राप्रपा संयुक्तको वैधानिकता नै धरापमा

काठमाडौं ,चैत १७– गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ ।निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचार स्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टी्भित्र प्रशस्त छलफल नभएको भन्दै त्यति बेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो ।

राप्रपा (संयुक्त) ले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि पार्टी एकताका लागि आव्हान गरिरहेको बेला यो पार्टीको वैधानिकता नै धरापमा पर्ने सम्भावना छ । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ ।

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा (१) मा भनिएको छ– ‘दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एकआपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’