लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, कति आउला लगानी ?

लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, कति आउला लगानी ?

काठमाडौं, १३ चैत । सरकारले आगामी शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ ।

आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी गराउनुभयो । सम्मेलनमा ४० देशबाट प्रतिनिधि आउने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

सम्मेलनमा ६ सय बढीले सहभागिता जनाउने छन् । दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने छ । सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

सम्मेलनलाई लक्षित गर्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ ।

दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण,नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् ।

यसैबीच उद्योगी, व्यवसायीहरुले काठमाडौंमा हुने लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् ।

सम्मेलनका विषयमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित निजी क्षेत्रका संगठनहरुका प्रतिनिधिहरुले यसलाइ सकारात्मक रुपमा लिन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिले नेपालमा लगानीको वातावरण बनेकाले सम्मेलनका लागि निजी क्षेत्र पनि उत्साहित रहेको बताउनुभयो ।

निजी क्षेत्रले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सबैले सफल बनाउन लागि पर्नु पर्ने उहाँले बताउनुभयो । यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गर्नुभयो । अन्य प्रतिनिधिले पनि सम्मेलनलाइ सकारात्मक रुपमा हेरेको बताएका थिए ।