जापान जाने नेपालीले जापानी सरह नै सुविधा पाउने

जापान जाने नेपालीले जापानी सरह नै सुविधा पाउने

काठमाडौँ, १२ चैत । नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ मा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा हिजो नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गर्नुभयो ।

नेपाल र जापानबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै श्रमिकका रूपमा जापान जान नेपाली नागरिकलाई बाटो खुला भएको छ । दुवै मुलुकबीच हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने प्रक्रिया अघि बढ्नेछ । भाषा परीक्षा उत्तीर्ण गरेर जापान जाने नेपालीको तलब सुविधा जापानका नागरिकको सरह हुनेछ । त्यसैले तुलनात्मक रूपमा निष्पक्ष र लाभदायक हुने अपेक्षा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताउनुभयो ।

जापान जाने संयन्त्रको चाँजोपाँजो मिलाउन वैदेशिक रोजगार विभाग मातहत रहने गरी छुट्टै एउटा संयन्त्र हुनेछ । यसअर्थमा नेपाली कामदार सरकारी संयन्त्रबाटै जापान जानेछन् ।

जापानले कृषि, नर्सिङ, सवारी साधन मर्मत, खाद्य सेवा, निर्माण, खाद्य उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछा मार्ने तथा पालन उद्योग, आद्योगिक उपकरण, इलेक्ट्रिक तथा सुचना प्रविधि, विल्डिङ तथा सरसफाई, जाहज पार्टपुर्जा एवम् हवाई उद्योगका लागि कामदार लिनेछ । गइसकेपछि जापान बस्न पाउने अवधि ५ वर्ष तोकिएको छ ।