कोरिया जान फारम भर्नेको तछाडमछाड, एकैदिन ५५ हजारको घुँइचो

कोरिया जान फारम भर्नेको तछाडमछाड, एकैदिन ५५ हजारको घुँइचो

काठमाडौं, ९ चैत । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेसँगै देशभरिका बैँकहरूमा युवाहरुको घुँइचो बढेको छ ।

हिजो एकैदिन मात्रै ५५ हजार युवाले आवेदन दिएका छन् । न खाई, न निदाई युवाहरू लाइन लागेको देख्दा स्वदेशमा रोजगारी सृजना नभएको भन्दै एकातर्फ सरकारको आलोचना भएको छ भने अर्कोतर्फ युवाहरु कोरिया पुगेपछिको योजनाका बारेमा पनि प्रष्ट छैनन् ।

काठमाडौँको सुन्धारा, बानेश्वर, ठमेललगायत विभिन्न ठाउँका वैँकहरूमा सयौँ युवाहरु कोरियन भाषा परीक्षाको लागि आवेदन भर्न तछाडमछाड गरिरहेका छन् । अस्ति मध्यरातिदेखि नै आवेदन खुल्यो । कोरिया जान पाइयो भने राम्रो आम्दानी गर्ने र भविष्य सुनिश्चित हुने विश्वास युवाहरूको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष हुने गरेका छन् । सरकारले यसवर्ष मात्रै सीपमूलक तालिम सञ्चालनका लागि ७ अर्बभन्दा धेरै रकम खर्च गर्दैछ । रोजगारीका अवसर सिर्जना गर्ने घोषणा सरकारले एकातर्फ गरेको छ । तर दक्ष जनशक्ति श्रम बजारमा नआउँदा रोजगारी सिर्जना गर्ने सरकारको घोषणा कार्यान्वयनमा समस्या देखिने गरेको छ ।

भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए जान पाइँदैन । रोजगारदाताले कामदार बोलाउनुअघि सम्बन्धित काममा दक्ष भए/नभएकोबारे विभिन्न परीक्षणबाट यकिन गर्छन् ।

कोरियाले विभिन्न १६ मुलुकबाट कामदार लैजान्छ । कोरियास्थित प्रवासी मजदुर संगठनका अनुसार अहिले त्यहाँ करिब १० लाख आप्रवासी कामदार छन् । जसमध्ये दुई लाख ७५ हजार इपिएसमार्फत गएका हुन् । कोरियामा कामदार पठाउने नेपाल तेस्रो ठूलो मुलुक हो ।