विराटनगर,८चैत । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको उपाधि भारतले जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो ।
घरेलु मैदानमा सुरुवातमा भारतमाथि दबाब बनाएको नेपालले सोही लयलाई कायम राख्न सकेन ।विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
नेपालले खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न सकेन । खेलमा भारतकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे ।
बङ्गलादेश अनुशासित टोलीका रुपमा पुरस्कृत भयो । नेपाल साफ महिला फुटबलमा चार पटक फाइनलमा पुगेको छ । शुरुआतका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।