माथिल्लो त्रिशूली–३ ‘बी’: पहिलो दिन नै माग भन्दा बढीको आवेदन (हेर्नुहाेस्)

माथिल्लो त्रिशूली–३ ‘बी’: पहिलो दिन नै माग भन्दा बढीको आवेदन (हेर्नुहाेस्)

काठमाडौं, ७ चैत । नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री आजदेखि सुरु भएको छ ।

त्रिशुली जलविद्युत कम्पनीले आज चैत्र ७ गतेदेखि निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा पहिलो दिन बेलुका ५:३० बजेसम्ममा ६० लाख ३१ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको हो ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म १२ हजार ७ सय ७३ आवेदकबाट ६० लाख ३१ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो मध्ये ९ लाख २९ हजार २ सय ३० कित्ता भेरिफाई भएको र ४९ लाख ७० हजार ३ सय ७० कित्ता भेरिफाइ हुन् बाँकि छ । ९२ जनाको १ लाख ३१ हजार ५ सय ३० कित्ताको आवेदन भने रद्द भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ताका लागि आवेदन दिएपछि सेयर बिक्री सुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ ओटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गंगा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना छनोट गरिएको हो । कम्पनीको सेयरमा छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो ।

कम्पनीले हाल जारि पुंजीको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख बराबरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत कर्मचारीको लागि छुट्याइएको छ। बाँकि रहेको ३५ लाख ९३ हजार ८ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर हाललाई कम्पनीले प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत बनेपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।

 आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमको समान ३० -३० प्रतिशत लगानी रहेको छ  । बाँकि ४० प्रतिशत सर्वसाधारणले लगानी गर्ने भएका हुन् ।