नक्सा पास नगरी सेनाले हस्पिटल भत्काएर बिजनेस मल बनायो

  • 16
    Shares
नक्सा पास नगरी सेनाले हस्पिटल भत्काएर बिजनेस मल बनायो

काठमाडौं । नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ । सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ । त्यस्तै ट्रमा सेन्टरसँगैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सेनाले नौ तले बिजनेस कम्प्लेक्स बनाएको छ । यसको पनि नक्सापास नभएको महानगरले जनाएको छ ।

घर निर्माणअघि नै कस्तो र कुन प्रयोजनका लागि बनाउने भन्ने ‘डीपीसी’ सम्मको स्वीकृत लिनुपर्ने हुन्छ । डीपीसीसम्म काम पूरा भएपछि कति तला, ‘स्ट्रक्चर’ कस्तो हुने भन्ने यकिन गर्नुपर्ने हुन्छ । तर जंगीअड्डाले नक्सापाससमेत नगरी धमाधम ठूला महल बनाइरहेको छ ।

‘नक्सापास गर्नुको त टाढाको कुरा, सम्पर्कमा आउनुस् भन्दासमेत अटेर भइरहेको छ,’ काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भनिन् । नक्सापास नगरेपछि रक्षामन्त्रीलाई समेत गुहारेको उल्लेख गर्दै उनले भनिन्, ‘जनता र सरकार सबैलाई समान नियम लाग्छ । म आर्मी हुँ, नियम लाग्दैन भन्ने हुँदैन । सेनाले बनाएको कुनै पनि संरचनाको नक्सापास भएको छैन ।’

सेनाले महानगर भवन अगाडि पुस्तकालयका लागि सेतो घर बनाएको छ । त्यो घरको पनि नक्सापास नभएको खड्गीले बताइन् । ‘त्यत्रो खुला ठाउँको छेउमा नसुहाउने गरी टङरंग घर बनाइएको छ,’ उनले भनिन् । सर्वसाधारणले महानगरको नियम माने पनि सेनाले अटेर गरेको उनले बताइन् । उच्च पदमा बसेका व्यक्तिले कानुन माने मात्रै सर्वसाधारणलाई पनि कार्यान्वयन गराउन सहज हुने उनको भनाइ छ ।

सेनाले नक्सापास नगरी संरचना बनाउँदा पनि कारबाही नगरेको भन्दै सर्वसाधारणले समेत मापदण्ड मिच्ने, नक्सापास नगरी घर बनाउन थालेको महानगरका कर्मचारीको गुनासो छ । खड्गीले भनिन्, ‘सर्वसाधारणसँग चाहिँ टन्नै जरिवाना लिने । उच्च तहलाई चाहिँ केही नगर्ने भन्ने हुँदैन ।’ जनप्रतिनिधि नहुँदा नियमविपरीत घर बनाए पनि अहिले कसैलाई छुट नहुने उनले बताइन् ।

ट्रमा सेन्टर नजिकैको त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सेनाले बिजनेस कम्प्लेक्स बनाइसकेको छ । सेनाको इतिहास बोकेको ८९ वर्ष पुरानो हस्पिटलको ठाउँमा बनेको नौ तले भवन भाडामा लगाउन टेन्डरसमेत आहवान भइसकेको छ । तर यो भवनको पनि सेनाले नक्सापास गराएको छैन ।

नक्सापास नै नभएको भवनको ‘निर्माण सम्पन्न’ लिन सेनाका अधिकारीहरू धाइरहेको महानगरले जनाएको छ । ‘नक्सापास गर्न आउनु भनेर ताकेता गर्दाचाहिँ वास्ता नगर्ने सेनाका पदाधिकारीले बैंक प्रयोजनका लागि निर्माण सम्पन्न चाहियो भनेर मागेका छन्,’ महानगरका एक इन्जिनियरले भने ।

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ७ मा भवन निर्माणसम्बन्धी व्यवस्था छ । ऐनको दफा २७ मा नक्सापास नगराई भवन निर्माण गर्न नमिल्ने उल्लेख छ । कान्तिपुरमा खबर छ ।