आमाको नामको नागरिकतामा बाबुको पहिचान अनिवार्य खुलाउनु नपर्ने

आमाको नामको नागरिकतामा बाबुको पहिचान अनिवार्य खुलाउनु नपर्ने

काठमाडौं, ५ चैत । संघिय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयक माथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् । तर, बाबुको पहिचान हुन नसकेको व्यहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिको निर्णय संघीय संसदका दुवै सदनबाट पारित भए नागरिकता बनाउन जाँदा महिलाले बाबुको पहिचान हुन नसकेको मात्र व्यहोरा जानकारी गराए पुग्छ ।

बैठकमा नागरिकतामा उपनाम पनि राख्न पाइने विषयमा समेत सहमति भएको छ । नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्नो समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको छ । नयाँ ऐनअनुसार नागरिकता लिने कुनैपनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदाय भित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिम नागरिकताको प्रमाणपत्र लिनसक्ने विधेयकमा व्यवस्था गरिएको छ ।

बाबु–आमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था सुरु गरिएको समितिले जनाएको छ । त्यस्तै, नागरिकता माग्न कुनै नागरिक सम्बन्धित अधिकारीसमक्ष पुगेको अवस्थामा इन्कार गर्न नपाउने व्यवस्थासमेत राखिने भएको छ ।