राष्ट्रपति निर्वाचनका लागि माओवादी निर्णायक

राष्ट्रपति निर्वाचनका लागि माओवादी निर्णायक

काठमाडौं । पार्टी एकीकरण भनिए पनि एमाले दिने र माओवादी केन्द्र हात थाप्ने पोजिसनमा रहेका कारण वाम एकताको प्रयास ‘माछो माछो भ्यागुतो’ हुने स्थितिमा पुगेको छ । ‘माछो माछो भ्यागुतो’ को अवस्थामा एमाले अध्यक्ष खड्गप्रसाद ओली पुग्छन् वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ? भन्ने स्पष्ट तस्बिर आइसकेको छैन । यो तस्बिर आउनलाई राष्ट्रिय सभाको निर्वाचन पर्खनुपर्ने भएको छ ।  रााष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षबाहेकका अरु सबै पदमा लचिलो हुने  एमालेको प्रस्ताव आए पनि २० प्रतिशतभन्दा बढी दिन नसकिने सूचना पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोधारमा छन् । एमालेको यो  प्रस्तावपछि अध्यक्ष प्रचण्डबाहेक माओवादीका अन्य नेताहरू भने पार्टी एकीकरणप्रति उत्साहित देखिएका छन् । माओवादीभित्र प्रचण्ड जे चाहन्छन्, त्यही निर्णय हुने भएकाले एमालेले भ्यागुतो देखाए प्रचण्ड नै प्रधानमन्त्री हुन सक्ने समाचार स्रोतले बताएको छ ।
एमाले र माओवादी दुवै पार्टीको तल्लो पंक्ति एकीकरणका लागि हतार जस्तो देखिए पनि नेतृत्व तहका नेताहरूको स्वार्थ बाझिएका कारण एकीकरण प्रक्रिया ढिलाइ हुँदै गएको हो । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावअघि नै एकीकरण हुने भनिए पनि नेताहरूले तारिख सादै सार्दै लगेका छन् । राष्ट्रिय सभाको निर्वाचनपछि एकीकरण गर्ने भन्दै पछिल्लोपटक तारिख सारिएको छ । तर जतिपटक तारिख सारिँदै छ, एकीकरणको सम्भावना पनि त्यति नै पर धकेलिँदै गएको छ ।
समाचार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकतामा आफ्नो व्यवस्थापनलाई राखेका छन् भने दोस्रो  प्राथमिकतामा रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ प्रकाशको व्यवस्थापनलाई राखेका छन् । आफू र आफू पछिका यी दुई नेताहरूको भरपर्दो व्यवस्थापनविना पार्टी एकीकरणका लागि प्रचण्ड तयार नहुने समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार आफूले पार्टी अध्यक्ष पद नपाएको अवस्थामा बादललाई राष्ट्रपति पद दिलाउने पहल प्रचण्डले गरेका छन्, तर एमालेले मानिरहेको छैन ।
एमालेभित्र पनि पार्टी एकीकरणका सन्दर्भमा विभिन्न मोडेलहरू प्रस्तुत गरिएका छन् । २०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादीबीच पार्टी एकीकरण गर्दा जुन मोडेल अघि सारिएको थियो, त्यही मोडेल अघि सार्ने  सहमति चुनाव अघि भएको थियो । त्यसबेला कर्यकारी भूमिका नरहने गरी अध्यक्ष पद सिर्जना गरेर माक्र्सवादीका अध्यक्ष मनमोहन अधिकारीलाई अध्यक्ष बनाइएको थियो भने कार्यकारी महासचिवको भूमिकामा मदन भण्डारी यथावत् थिए । तर त्यो मोडेल यतिबेला व्यावहारिक देखिएको छैन । पार्टीको विधानमा जे लेखिए पनि संविधानतः अध्यक्षकै हातमा कार्यकारी अधिकार हुन्छ, त्यसैले प्रचण्डलाई अध्यक्ष स्वीकार गर्न एमाले तयार छैन  ।
विना तालमेल एक्लै राष्ट्रपति पद हात पार्ने अवस्थामा एमाले पुग्छ वा पुग्दैन ? भन्ने कुराको छिनोफानो राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै हुनेछ । राष्ट्रिय सभामा एमाले एक्लैले ३५ भन्दा बढी सिट हासिल ग¥यो भने राष्ट्रपतिका लागि एमालेलाई अरु पार्टीको सहयोग जरुरी पर्दैन । तर  राष्ट्रिय सभामा एमालेले ३५ भन्दा कम सिट हासिल ग¥यो भने माओवादीको मत नै निर्णायक हुनेछ । यतिबेला माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रिय सभामा एमालेलाई ३० भन्दा कम सिटमा झार्ने रणनीतिमा छन् ।  प्रतिनिधिसभाको निर्वाचनमा जस्तै ४० र ६० को भागबन्डा गरी उम्मेदवार तय गर्न प्रचण्ड सफल भए भने एमालेको राष्ट्रिय सभामा ३० सिटभन्दा कम हुनेछ ।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष पद आफूले लिने र सभामुख, उपरष्ट्रपति, उपप्रधानमन्त्री, केही प्रदेशका मुख्यमन्त्री तथा पार्टीभित्र सहअध्यक्ष, उपाध्यक्षहरू, महासचिवहरू, उपमाहसचिवहरू र सचिवहरूलगायतका माओवादीलाई उल्लेख्य मात्रमा दिने तयारीमा एमाले देखिएको छ । सकेसम्म सिंगो माओवादीलाई एकीकरण प्रक्रियामा सामेल गराउने, नसके माओवादीलाई विभाजन गराएरै भए पनि बहुमत पु¥याउने अभियानमा एमाले देखिएको छ । प्रचण्डबाहेकका माओवादीका अन्य नेताहरूले सिंगो पार्टी एकीकरण गराउँदा जे जति लाभ पाउँछन्, त्यो भन्दा बढी लाभ पार्टी विभाजन गरेको अवस्थामा उनीहरूले पाउने गरी एमालेले भित्रभित्रै नयाँ मोडेल अघि सारेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री पद हात पार्न एमालेलाई थोरै सिट अपुग देखिएको छ । एमालेको सर्तमा पार्टी एकीकरण गर्न प्रचण्ड तयार रहेनन् भने दोस्रो बाटो प्रयोग गर्ने रणनीतिमा केपी ओली समूह देखिएको छ । यो दोस्रो बाटो भनेको माओवादीको विभाजन नै हो । माओवादीका २० देखि २५ सांसदहरूलाई भने जस्तो पद दिइयो भने विभाजन गर्न सजिलै सकिने भन्दै एमालेका नेताहरूले गृहकार्य सुरु गरिसकेका छन् । सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदहरूको प्रस्ताव आएको भन्दै माओवादीका टोपबहादुर रायमझी, शक्ति बस्नेत, अग्नि सापकोटालगायतका नेताहरूले आन्तरिक छलफल गरिरहेका छन् ।
एमालेको प्रस्तावअनुसार पार्टी एकीकरण गर्न प्रचण्ड तयार भए भने खासै समस्या नदेखिएको वाम विश्लेषकहरूको भनाइ छ । यो अवस्थामा प्रचण्ड नाम मात्रको सहअध्यक्ष रहनेछन् । उपाध्यक्ष पद ६ वटा, महासचिव पद दुईवटा, उपमहासचिव पद चारवटा र सचिव पद १० वटा सिर्जना गर्ने र केन्द्रीय समिति पाँच सयको आसपासमा बनाउने मोडल पनि अघि सारिएको छ । हाल एमालेको केन्द्रीय समिति २१० सदस्यीय छ भने माओवादीको केन्द्रीय समितिको एकिन संख्या अध्यक्ष प्रचण्डबाहेक अरुलाई थाह छैन । ५४ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । तरुण साप्ताहिकमा खबर छ ।