काठमाडौं , २८ फागुन । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘अदालत’ प्रति दर्शकको चासो बढ्दै गएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मले राजधानीका विशेषत सिंगल थियटरमा दर्शकको साथ पाइरहेको छ ।
फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले राजधानीको गोपीकृष्ण, कलंकी, ग्वार्कोको गुण र उपत्यका बाहिर इटहरीमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताए । ‘दर्शकले फिल्मको विषयबस्तु निकै रुचाइदिनुभएको छ । उहाँहरुको प्रतिक्रियाले हामी खुशी छौं’, लिङ्देनले भने । उनका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि फिल्मले राम्रो दर्शक पाएको छ ।
फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाएको छ । फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।
फिल्ममा डा डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन् ।