ममाथि ठूलै अन्तर्घात भयो

ममाथि ठूलै अन्तर्घात भयो

० अहिले तपाई कांग्रेसको कुन तहमा हुनुहुन्छ ? 
– म नेपाल टे«ड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्ष हुँ । यसैगरी, नेपाली कांग्रेस, कास्की ३ नम्बर क्षेत्रको महाधिवेशन प्रतिनिधि पनि हुँ । म कांग्रेसको पूर्व आमन्त्रिक केन्द्रीय सदस्य पनि हुँ । यसअघि कास्कीको ३ नम्बर क्षेत्रको क्षेत्रीय सभापति र जिल्ला सदस्य पनि भएँ ।

० यति सिनियर नेता पोखरामा मेयरमा चुनाव लड्दा किन पराजित हुनुभयो, पराजित हुनुको कारण के हो ?
– म मेयरमा चुनाव लडें । यो मेरो पहिले अनुभव थियो । तर कांग्रेसमा केही मान्छे यस्ता रहेछन्, जो आफूले पाए सबै ठिक, आफूले नपाए सबै बेठिक ठान्ने । जसले वर्षौंदेखि अवसर पाइरहेका छन्, सधंै उनीहरूले नै अवसर पाउनुपर्ने ? जसले पार्टीमा दुःख–कष्ट गरेको छ, जेलनेल गएको छ, उसले टिकट पाउँदा सधैं अवसर पाइरहेकाहरूले रिस गर्ने अवस्था छ । अवसर पाइरहनेहरू वर्षभरि काांग्रेस हुन्छन्, भोट दिने दिन सूर्यमुखी कांग्रेस हुन्छन् । अर्थात् रुखलाई नदिई सूर्यलाई भोट दिन्छन् । यस्ता प्रवृत्तिको म सिकार भएँ ।

० भनेपछि तपाईमाथि अन्तर्घात भयो ?
– हो, अन्तर्घात भयो नि  ।

० अन्तर्घात भएका प्रमाण छन् भने त उजुरी गर्दा हुन्छ नि ? 
– प्रमाण धेरै छन् । मैले पार्टीका नेताहरूलाई भनेको छु । पार्टीका वरिष्ठ नेतादेखि सभापतिलाई भेटेरै मैले यस्ता सूर्यमुखी कांग्रेसलाई कारबाही गर्नुभएन भने पार्टी कमजोर हुँदै जान्छ, यसै पनि पार्टी कमजोरको अवस्थामा छ भनेको छु । अन्तर्घातको प्रवृत्तिले पार्टी कमजोर हुन्छ भनेको हुँ । अन्तर्घात पनि कस्तो भयो रुखलाई मात्र भोट नदिए त हुन्थ्यो, रुखलाई नदिएर सूर्यलाई भोट दिने गरी अन्तर्घात भयो । त्यसले डब्बल भोट उता गयो ।

० कति भोट अन्तर्घात भयो ? 
– मलाई लाग्छ, दस हजार भोटले ममाथि अन्तर्घात भयो । मैले करिब ४६ हजार तीन सय भोट ल्याएँ । उनीहरूले करिब ६० हजार भोट ल्याए । ममाथि अन्तर्घात भएकै कारण एमालेले चुनाव जित्यो ।

० चुनाव हार्नुमा तपाईको आफ्नो पनि कारण होला नि ? 
– मेरो पनि कमीकमजोरी भयो होला । म भयंकर नै हुँ भन्दिनँ । तर चुनाव हार्नुमा दुईवटा कारण प्रमुख छन् । एउटा अन्तर्घात हो, जो अहिले कांग्रेसका महाधिवेशन प्रतिनिधि छन्, उनीहरूले नै घात गरे ।

० नाम भन्नु होस् न ?
– नाम नै किटान नगरौं । महाधिवेशन प्रतिनिधिहरू भन्नुहोस् न । जो सधैं पद पाइरहेका हुन्छन् । ती व्यक्तिले आफूले पद नपाउँदा संस्थागत रूपमै ममाथि अन्तर्घात गरे ।

० तिनीहरूलाई समेट्न नसक्नुमा तपाईको पनि कमजोरी होला नि ?
– मैले समेट्न नसकेको होइन, समेट्ने विधि नपुगेको हुन सक्छ । मैले उनीहरूलाई उठ्ने हो भने भन्नुस् भनेर बारम्बार सोधेको हुँ । उनीहरूले हामी उठ्दैनौं भनेपछि म अघि सरेको हुँ । तर म उठेपछि मलाई उनीहरूले संस्थागत अन्तर्घात गरे ।

० चुनाव हार्नुमा दोस्रो कारण के थियो ?
– दोस्रो, माओवादीसँग गरिएको तालमेलका कारण हार व्यहोर्नु प¥यो । त्यो तालमेल प्रभावकारी भएन, हामीलाई उसले प्रयोग मात्र ग¥यो । माओवादीले ठूलै धोका दियो । चितवनमा कांग्रेसले माओवादीलाई सहयोग गर्नुपर्ने, तर पोखरामा भने माओवादीले कांग्रेसलाई सहयोग गर्नु नपर्ने । यो पनि अर्को कारण थियो ।

० चुनावको बेलामा माओवादीका शीर्ष नेताहरू पोखरामा गएनन्, होइन ?
– चितवनमा हाम्रो पार्टी सभापति शेरबहादुर दाइ जानुभयो, तर माओवादीका शीर्ष नेताहरू पोखरामा आएनन् । माओवादीले सहयोग नगर्नु पनि चुनाव हार्नुको अर्को कारण थियो । माओवादीको भर छैन, विश्वासी छैनन् । आखिर कम्युनिस्टले कम्युनिस्टलाई भोट दिए । मुखले भोट दिन्छौं भने, पत्रकार सम्मेलन पनि गरे, तर भोट सूर्यलाई दिए । जुन सहयोग गर्नुपथ्र्यो, त्यो सहयोग गरेनन् । एकाध ठाउँमा एक दुई सय भोट दिए होलान् । भोट नै दिएनन् भन्दिनँ । तर जति भोट दिनुपथ्र्यो, त्यो भोट दिएनन् ।

० संविधानसभाको दोस्रो निर्वाचनमा पोखरामा कांग्रेसले जितेको थियो, होइन ?
– पोखराको मुख्य बजारमा कांग्रेसले हारेको हो । कास्कीको  २ नम्बर क्षेत्रमा कांग्रेसले जित्यो । ३ नम्बर क्षेत्रमा कांग्रेसले हारेको थियो । कांग्रेसको पनि कमजोरी नभएको होइन । मैले कांग्रेसका वरिष्ठ नेताहरूलाई भनेको थिएँ, हाम्रो पार्टीका नेताहरू चारतिर फर्केका छन् । सबै नेता एकढिक्का भए, हामीले चुनाव जित्छौं भनेको थिए । तर पोखरामा कांग्रेस एकढिक्का भएन ।

० तपाईको पराजयमा मुख्य दोषी को हो त ?
– मुख्य दोषी त अन्तर्घाती नै हुन् ।

० चुनावपछि क्षेत्रीय सभापतिले राजीनामा गरे, होइन ?
– क्षेत्रीय सभापतिले होइन, पोखरा नगर सभापतिले राजीनामा गरेका हुन् । नगर सभापतिले पनि राजीनाामा गर्नु हँुदैनथ्यो । त्यो उहाँको कुरा हो । बजीरमान श्रेष्ठ कांग्रेस पोखरा नगरपालिकाको नगर सभापति पनि हुनुहुन्छ । उहाँ १३ नम्बर वडामा वडाध्यक्षमा चुनाव लड्नु भएको थियो । वडाध्यक्षमा हारेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँले हतारमा राजीनामा गर्नुभयो ।

०  पराजयको जिम्मा कसै न कसैले लिनुपर्छ होला नि ?
– जिम्मेवारी लिनुपर्छ । हार्नुमा उम्मेदवारले पनि जिम्मा लिनुप¥यो । पार्टीले पनि लिनुप¥यो । एउटा कुरा के हो भने म प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक हो । चुनाव लडेको अनुभव मसँग थिएन । जो अनुभवी नेता हुनुहन्थ्यो, उहाँहरूले हामीलाई गाइड पनि गर्नुभएन । कास्की कांग्रेसमा धेरै गुट उपगुट छन् । उनीहरूले कुरा गर्दा राम्रो गर्ने, भित्रभित्रै षड्यन्त्र गर्न गरे । यो कुरा चुनावको बीचमा हल्ला चल्यो । फोन गरेर भनें, सुध्रे्रको जस्तो लाग्यो । तर यसरी संस्थागत अन्तर्घात गरियो । रुखलाई भोट नदिई मेयर र उपमेयरमा सूर्यलाई भोट दिइयो । मतगणना हुँदा पाँच ठाउँमा रुखमा छाप छ, तर मेयर र उपमेयरमा सूर्यलाई भोट गएको छ । त्यसले गर्दा दोब्बर भोट सूर्यलाई बढ्यो । जो साथीहरूले अन्तर्घातको नेतृत्व गर्नु भयो, उहाँहरूले पटक पटक पद पाउनुभएको छ । लाभको पदमा जानुभएको छ । तर उहाँहरू नै अन्तर्घात गर्न अग्रसर हुनुभयो, त्यसैले वर्षभरि कांग्रेस हुने, चुनावको दिन सूर्यलाई भोट दिने सूर्यमुखी कांग्रेसलाई कारबाही हुनुपर्छ भन्ने मेरो माग हो । -तरुणबाट