अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेशसभाका समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। यसअघि राजपाले बुझाएको सूची क्रमसंख्या अनुसार नभएको भन्दै आयोगले सच्याउन निर्देशन दिएको थियो। आयोगमा परिमार्जित सूची बुझाएपछि यसअघि सूचीमा परेका ६ जनाको नाम राजपाले हटाएको छ। राजपाले दुई नम्बर प्रदेशबाट रामनरेश राय, जानकी शरण साह, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, अल्का कुमारी साह, रिना यादवको नाम आयोगमा बुझाएको छ।
त्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम राजपाले आयोगमा बुझाएको छ। यसअघि, प्रदेश नम्बर दुईबाट नेत्रविक्रम साह, निराकुमारी साह, अल्का कुमारी साह र रिना यादवको नाम राजपाले बुझाएको थिएन। प्रदेश नम्बर पाँचका विम पन्त र प्रदेश नम्बर सातका मालवती राना दुवै परिमार्जित सूचीमा परेका हुन्।
यसअघि नाम रहेका रामप्रवेश वैठा, पुनम यादव, विवा ठाकुर, लैला खातुनलाई राजपाले सूचीबाट राजपाले हटाएको छ। प्रदेश नम्बर सातमा सुनीता चौधरी र प्रदेश नम्बर पाँचमा महम्मद कादीर शेखलाई राजपाले परिमार्जित सूचीबाट हटाएको छ। राजपाले समानुपातिकतर्फ प्रदेश नम्बर २ मा १० जना, प्रदेश नम्बर ५ मा १ जना र प्रदेश नम्बर ७ मा १ जना सांसद जितेको थियो।