

दमास्कस, २७ फागुन -इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् ।
सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् ।डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ)ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो ।आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो ।
तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।रासस