फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

काठमाडौँ, फागुन २७ गते । नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर)यसै साता सरकारलाई बुझाउने भएको छ ।

नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताउनुभयो । प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उहाँले बताउनुभयो । यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो ।

सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ्ग, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । उक्त परियोजना कार्यालयले केही प्राविधिक विषय र सरकारले दिएको कार्यादेश अनुसार डीपीआरको आवश्यक अध्ययन गरी सकेको र कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदनलाई नै केही सामान्य सुझाव बाहेक खासै परिवर्तन नगरेको पनि प्रमुख खाँडले बताउनुभयो ।सरकारलाई बुझाउन लागिएको डीपीआरमा करीब ९९ वटा पुल कायम गरिएको उहाँले जानकारी दिनुभयो । यस अघि उक्त परियोजनाले पुलको संख्या कम गर्न तीनवटा थप सुरुङ्ग निर्माण गर्ने अवधारणा अगाडि ल्याएको थियो ।

नेपाली सेनालाई उक्त दू्रत मार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी दिइएको र त्यसलाई सेनाले ७६।२ किलोमिटर लामो सो मार्गलाई तीन मुख्य खण्डमा विभाजन गरी काम अगाडि बढाउने तयरी गरेको छ ।१७ किलोमिटर सडक सेना आफैंले निर्माण गर्ने र ३७ किलो मिटर सडक निर्माणका लागि भरपर्दो नेपाली निर्माण कम्पनीलाई दिने र बाँकी २२.२ किलोमिटर सडक जसमा पुल र सुरुङ्ग पर्छ त्यसलाई विदेशी कम्पनीलाई दिइने तयारी भइरहेको जनाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।