दीपक मनाङेलाई ज्यान मुद्दामा ५ वर्ष कैदको फैसला, प्रदेशसभा सदस्य पद स्वतः निलम्बनमा

दीपक मनाङेलाई ज्यान मुद्दामा ५ वर्ष कैदको फैसला, प्रदेशसभा सदस्य पद स्वतः निलम्बनमा

काठमाडौं, २ माघ । एमालेका नेता एवं चर्चित डन दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको छ । त्यसैगरी गणेश लामासहित चार जनाले भने सफाइ पाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका निकट मानिने दीपक मनाङे प्रदेशसभा चुनावमा मनाङ ‘ख’बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, शपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएकाले उनको पद स्वतः निलम्बनमा पर्ने भएको छ ।

मनाङबाट प्रतिनिधि सभाको टिकट दिने सहमतिका साथ एमालेले मनाङेलाई पार्टीमा भित्र्याएको थियो । सो कुराको सर्वत्र आलोचना भएपछि उनलाई पार्टीबाट टिकट दिइएन । तर, प्रदेश सभाका लागि स्वतन्त्र उमेदवारी दिन लगाएर एमालेले पार्टीकी उम्मेदवार खण्डा लामाको उम्मेदवारी फिर्ता गराएको थियो । भित्री रूपमा मनाङे माओवादी र एमालेको साझा उम्मेदवार बनेर प्रदेश सभा निर्वाचनमा विजयी भएका थिए ।

०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको भनेर दीपक मनाङेको समूहमाथि मुद्दा परेको थियो । त्यसवेला जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । उनीसँगै आरोपित गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाए ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएकोमा अदालतले त्यसलाई ज्यान मुद्दा ठहर गरी मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । अरूलाई भने पुनरावेदन अदालतले पनि सफाइ दियो ।

सबैलाई जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

अरूको हकमा पनि कैद सजाय माग गएिको, तर सर्वोच्चले तत्कालीन पुनरावेदनकै फैसला सदर गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

जिल्ला अदालतले सुनाएको दुई वर्षको सजाय मनाङेले भुक्तान गरेको बताइएको छ । अब उनले बाँकी ३ वर्ष समय कैद भुक्तान गर्नुपर्नेछ ।