

काठमाडौँ,२६ फागनु । राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि उक्त कार्यक्रमका लागि अमेरिका जाँदैछन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही उच्चस्तरीय भेटवार्तासमेत गर्ने बताइएको छ । राष्ट्रपतिको कार्यक्रम तालिकामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण पनि समावेश छ ।भण्डारी चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।