

काठमाडौँ, २४ फागुन।सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहबीच प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा गठबन्धनका नेता सीके राउत र गृहमन्त्री रामबहादुर थापाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा गठबन्धनका संयोजक डा राउतले मधेशका समस्या समाधान गर्ने सन्दर्भमा भएको सहमतिको नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थान रहेकाले सबैलाई खुशी तुल्याएको बताउनुभयो ।उहाँले भन्नुभयो, “केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र हामी कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित थियौँ । यो विषय आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको छ । आज यो दिन साँच्चिकै ऐतिहासिक रहेको छ ।”
राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन गरिए पनि हामीले कहिल्यै प्रतिशोध गरेनौँ, बरु दमन गर्नेलाई गुलावको फूल दिने अभियान चलाएका थियौँ । वर्तमान सरकारले सहमति गराएको छ ।’प्रधानमन्त्री ओलीले आफ्नो स्तरबाट मुद्दाको पक्षलाई बुझेर राजनीतिकरुपमा प्रयत्न र सन्देश प्रदान गर्नुभएको भनी त्यसका लागि उहाँ धन्यवादका पात्र भएको राउतले जनाउनुभयो ।
सकारात्मक सोचका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई साथ र सहयोग पुर्याउने आग्रह पनि उहाँले गर्नुभयो । उहाँले आफ्नो अधिकारको लागि आफूहरु लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिइ विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि सबै लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो ।