वामदेव गौतमलाई राष्ट्रिय सभाको ढोका बन्द

वामदेव गौतमलाई राष्ट्रिय सभाको ढोका बन्द

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि राष्ट्रियसभाको ढोका बन्द भएको हो । पार्टी अध्यक्ष खड्ग ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्ड गएका बेला उपाध्यक्ष गौतमकै अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलको प्रस्तावमा सो निर्णय भएपछि गौतमले केही बोल्न सकेनन् ।
राष्ट्रियसभाको उम्मेदवारको मापदण्डमा, ‘स्थानीय, प्रदेशसभा तथा प्रनिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम नभएका’ व्यक्ति उम्मेदवारका लागि योग्य हुने उल्लेख छ । जसअनुसार राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनै वामदेव अयोग्य भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि वामदेव राष्ट्रियसभा सदस्यमा उठ्ने चर्चा थियो । यद्यपि उनले यस विषयमा सार्वजनिक रूपमा केही बोलेका थिएनन् । पार्टीको मापदण्डले वामदेवलगायत स्थानीय, प्रदेश तथा प्रतिनिधिसभामा उठेर हारेका एमाले नेताहरूको राष्ट्रियसभामा जाने बाटो बन्द गरिदिएको छ । एकै व्यक्तिलाई धेरै अवसर नदिने नीतिअनुसार यस्तो मापदण्ड बनाइएको एक एमाले नेताले बताए । तर माओवादी अध्यक्ष प्रचण्डले पनि वामदेवलाई संघीय संसद्मा कुनै भूमिका दिनुपर्ने मत राखेका बेला पार्टीले उनका लागि राष्ट्रिय सभाको ढोका भने बन्द गरिदिएको छ । संविधानअनुसार राष्ट्रियसभाको सदस्य नै बने पनि प्रतिनिधिसभामा चुनाव हारेको व्यक्ति मन्त्री बन्न अयोग्य हुन्छ ।
तीनपटक उपप्रधान तथा गृहमन्त्री बनेका पार्टीमा पनि दुईपटक उपाध्यक्ष बनेका छन् । २०५१ सालपछि पार्टीको उपमहासचिवबाट एकाएक प्रभावशाली बनेका गौतमले २०५४ सालमा पार्टी नै विभाजन गराएका थिए । अहिले पनि सत्तामा बढी नै कचकच गर्न सक्ने भन्दै पार्टीभित्रकै एउटा समूहले उनलाई अन्तर्घात गरेर हराएको भन्ने व्यापक चर्चा चलेको थियो । पार्टीले उनी हार्नुको कारणबारे छानबिन गर्न एक समितिसमेत गठन गरिसकेको छ ।
गौतमको ध्यान अक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा गएको छ । पार्टीले त्यस्तो निर्णय गरेपछि पार्टीभित्र एक प्रकारको असन्तुष्टि पनि बढेको छ । समानुपातिक सूचीमा परेका र अन्य क्षेत्रमा समेत अवसर नपाएका नेताहरूले पनि राष्ट्रिय सभा ताकिरहेका बेला पार्टीले व्यापारीहरूलाई राष्ट्रिय सभामा लान सक्ने भन्दै असन्तुष्टि बढेको हो । पार्टी उपाध्यक्ष युवराज ज्ञवाली यसपटक राष्ट्रिय सभाको उम्मेदवार बन्ने बलियो सम्भावना छ । समानुपातिकमा नपरेका कतिपय नेताहरू यसको उम्मेदवार बन्न सक्नेछन् भने समानुपातिकमा परेका, तर उम्मेदवार फिर्ता नभएकाहरू भने राष्ट्रिय सभामा जान नपाउने भएका छन् । एमालेको तर्फबाट संसद्मा जानै पर्ने केही नेताहरू भने यसपटक छुट्ने निश्चित जस्तै भएको छ । तरुण साप्तहिकमा समाचार छ ।