टीकापुर घटना: रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला

टीकापुर घटना: रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला

काठमाडौँ, २२ फागुन,  । कैलालीको टीकापुर घटनाको मुद्दामा फैसला गर्दै कैलाली जिल्ला अदालतले रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । २०७२ सालमा हिंसात्मक घटनामा परी नाबालक सहित आठ प्रहरीको ज्यान गएको थियो ।

उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३)नं बमोजिम जनही जन्मकैदको सजाय हुने भएको छ । प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात् १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार उक्त घटनाका प्रतिवादी लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ ९३०नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ ।प्रतिवादीमध्ये चुन्नीराम यही फागुन ३० गतेदेखि थुनामुक्त हुने र अन्यको कैद अवधि तीन वर्ष भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने छन् ।

यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महीना कैद हुने ठहर भएकामा निजको पनि कैद भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने जनाइएको छ । अन्य प्रतिवादी नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी र रामनरेश चौधरीले अदालतबाट सफाइ पाएका छन् ।

जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि पछिल्लो पटक भएको निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा वारेसमार्फत उम्मेदवारी दिएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । केही महीनाअघि मात्रै जिल्ला अदालतमा उपस्थित उनलाई कैलाली कारागारबाट केन्द्रीय कारागारमा स्थानन्तरण गरिएको थियो । हालै उनलाई शपथ ग्रहण समेत गराइएको थियो ।

उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन वटा वारदातको अभियोग लगाइएकामा डाकाचोरीतर्प सबै जनाले सफाइ पाएका छन् । कर्तव्य ज्यानतर्फ जन्मकैद सजाय हुने ठहरिएका १० प्रतिवादीले ज्यानसम्बन्धी महलको १५ नंको कसूर अपराधमा तजबिजी पाँच वर्षसमेत थप सजाय र नाबालक श्रवणलाई दुई वर्ष छ महीना कैद हुने ठहर भएकामा मुलुकी ऐनको दण्डसजायको महलबमोजिम ठूलो कलमको कैद ठेकिएकाले कैद ठेकी रहनु नपर्ने फैसला अदालतले सुनाएको छ ।