प्रतिनिधिसभामा विभिन्न विधेयक प्रस्तुत

प्रतिनिधिसभामा विभिन्न विधेयक प्रस्तुत

काठमाडौँ, २२ फागुन – प्रनितिधिसभाको आजको बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरु प्रस्तुत गरिएका छन् ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो । यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीबाट अर्थमन्त्री डा खतिवडाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफ गार्डस् एन्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

उक्त दुवै विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार फागुन २३ गते दिउँसो १२ बजे बस्नेछ ।रासस ।