ट्रम्पको योजना ‘शताब्दीकै झापड’

ट्रम्पको योजना ‘शताब्दीकै झापड’

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन्।

रमल्लाहमा विभिन्न राजनीतिक गुटहरुको दुई दिने बैठकको शुरूमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

प्यालेस्टाइनको केन्द्रीय परिषद्ले अघिल्लो महिना जेरूसलेमलाई इजरेली राजधानीको मान्यता दिने ट्रम्प प्रशासनको निर्णयबारे आफ्नो औपचारिक प्रतिक्रिया तय गर्न उक्त बैठक आह्वान गरेको हो।

उक्त उच्चस्तरीय बैठकमा बोल्दै अब्बासले इजरेल प्यालेस्टाइन द्वन्द्व अन्त्य गराउन अन्तिम सम्झौता गराउने ट्रम्पको घोषणाले अन्तत: प्यालेस्टाइनमाथि झापड हानेको बताए।

छलफल

उक्त बैठकले ओस्लो शान्ति सम्झौता रद्द गर्ने र इजरेलसँगको सुरक्षा समन्वय समेत समाप्त गर्ने विषयमा छलफल गरिरहेको बुझिएको छ।

प्यालेस्टिनीहरूले लामो समयदेखिका यी सम्झौतामा व्यक्त प्रतिबद्धताबाट इजरेल पछि हटिरहेको तर्क गर्दै आएका छन्।

उनीहरूले अब मध्यपूर्वको मामिलामा संयुक्त राज्य अमेरिकाले मध्यस्तता गर्न नसक्ने जनाएका छन्।

र, राष्ट्रपति अब्बासले पुन: संयुक्त राष्ट्र संघ र अन्य देशहरूलाई बढी सलंग्न हुन आग्रह गरेका छन्।

चिन्ता

राष्ट्रपति अब्बासले खरो टिप्पणी गरेपनि धेरै विश्लेषकहरूले यो बैठकले कुनै नाटकीय निर्णयमा आशंका गरेका छन्।

किनभने त्यस्ता कदमले नयाँ कूटनीतिक प्रयासहरूलाई संकटमा पारिदिने चिन्ताहरू व्यक्त भएका छन्।

उक्त परिषद्ले नीतिगत सुझाव मात्र दिन सक्नेछ र अन्तिम निर्णय पिएलओ भनिने प्यालेस्टाइनको सबैभन्दा उच्चस्तरीय निकायको कार्यकारी समितिले गर्नेछ।

सबै प्यालेस्टीनी समूहहरूलाई उक्त वार्तामा बोलाइएको थियो तर हमास र इस्लामिक जिहाद नाम गरेका संगठनहरूले सहभागिता जनाएका छैनन्। -बिबिसिबाट