

-शान्ति लामा
कीर्तिपुर, फागुन १८ गते । नौमुले मुहानको पानी वितरण गर्ने मूल पाइपलाई प्वाल पारी कीर्तिपुर – ९ मा एयर भल्भ बनाइएको छ । त्यही एयर भल्भबाट चुहिने पानीको पालो कुर्दै गरेको भेटिनुभयो, कीर्तिपुर नयाँबजार बस्ने पद्मा अधिकारी । उहाँ आफ्ना छोराको परीक्षामा सघाउन केही दिनका लागि काठमाडौँ आउनुभएको हो । डेरा बस्ने घरमा पानी नआउने भएपछि एयर भल्भको पानी ओसारेर खानुपरेको उहाँ बताउनुहुन्छ ।
त्यही चुहिएको धारामा पनि घन्टौँ पालो कुर्नु परेको अनुभव अधिकारीको छ । “दिउँसो पालो कुर्न नसकेपछि प्रायः राति ११ बजे आएर पानी लैजान्छु,” खिन्न हुँदै उहाँले सुनाउनुभयो, “पानीकै दुःखले गर्दा झापादेखि यहाँ आफैं आएर बस्नुपरेको छ ।” त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेका छोराको परीक्षा नसकेसम्म आफूले यसरी नै पानी ओसार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु विकल्प नै छैन । कि किनेर खानुप¥यो, नत्र यसरी घन्टौँ लगाएर पानी ओसार्नुप¥यो ।”
कीर्तिपुर, नयाँबजार निवासी सबिना श्रेष्ठ पनि पानीको समस्याले वर्षौंदेखि दिक्क हुनुहुन्छ । खानेपानी सधैं किन्नुपर्ने उहाँ बताउनुहुन्छ । “खानेपानीदेखि लुगा धुने पानीसमेत किन्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । कीर्तिपुर नगरपालिकाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या विकराल छ । कीर्तिपुर नगरपालिकाका अनुसार वडा नं। ४ बाहेकका क्षेत्रमा खानेपानीको समस्या व्यापक छ ।
नगरपालिकाका उपप्रमुख सरस्वती खड्का भन्नुहुन्छ, ‘वडा नं। ४ मा समस्या अलि कम छ । अन्यमा समस्या धेरै छ ।’ वडा नं। ४ मा धेरैवटा सिमसार क्षेत्र र पानीको मुहान रहेका कारण यहाँ समस्या कम भएको हो । खड्काका अनुसार पूर्ण रूपमा खानेपानी वितरण प्रणाली नगरको कुनै पनि क्षेत्रमा पुगेको छैन ।
उपप्रमुख तथा प्रवक्ता खड्कका अनुसार नगरपालिकासँग अहिले नै खानेपानीका कुनै पनि ठूला योजना बन्ने स्थिति छैन । खानेपानी पु¥याउन नसकेपछि अहिले विभिन्न ठाउँमा डीप बोरिङ गरी पानी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाको चम्पादेवी, दिखु, पाँगा, भाजङ्गल, चोभारलगायत विभिन्न क्षेत्रमा डिप बोरिङ गरीे पानी पु¥याइएको उहाँले बताउनुभयो । अझै थप केही स्थानमा डिप बोरिङ गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । खानेपानी अभावको यो भयावह अवस्थाबीच नगरपालिका भने अहिले आफ्नो क्षेत्रभित्रका पानीका मूल संरक्षणको काममा लागेको छ । केही सिमसार र जलाधार क्षेत्रको जगेर्ना गर्ने कार्यक्रम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको झोराहिटी, दूधपोखरी, नौमूले र राउटेभीरका सिमसार संरक्षणमा नगरपालिकाले जोड दिएको उपप्रमुख खड्काले जानकारी दिनुभयो ।
मुहान संरक्षणसँगै मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माणको काम पनि नगरपालिकाले गरेको छ । दूधपोखरी र तामाङ गाउँमा एक–एक लाख लिटरको पानी ट्याङ्की निर्माण गर्ने विषयमा छलफल भइरहेको उपप्रमुख खड्काले जानकारी दिनुभयो ।
नगरपालिका भर्खरै मुहान संरक्षणको काममा लागेको स्थितिमा कीर्तिपुर नगरबासीको प्यास अझै केही वर्ष नमेटिने स्थानीय बताउँछन् । मेलम्ची खानेपानी आयोजनालाई पनि कीर्तिपुर नगरपालिकाले एक विकल्पको रूपमा अगाडि सारेको छ । उपप्रमुख खड्काका अनुसार मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि नगरपालिकाले फस्ट फेजको वितरणमा नै कीर्तिपुरलाई पानी दिलाउन प्रयास गरिने छ ।
कीर्तिपुर नगरपालिकाको खानेपानी वितरणको व्यवस्थापन भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्दै आएको छ । अहिले मूल पहिचान र संरक्षणको चरणमा रहेकोले केही समय कीर्तिपुरबासीले पानीको समस्या झेल्नुपर्ने केयूकेएल, कीर्तिपुर शाखाका वितरण प्रमुख रामकृष्ण थापा बताउनुहुन्छ । अहिले पहिचान भएका मुहानमा डग वेल निर्माणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । ती मुहानको पानी संरक्षण र वितरणको काम सम्पन्न भएपछि भने कीर्तिपुरमा सबैले स्वच्छ खानेपानी उपभोग गर्न पाउने उहाँले बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।