नेवि संघका महिला हस्तिहरु भन्छन्– ‘नेतृत्वकाे जिम्मेवारी दिनुहोस् हामी हाक्छौं’

नेवि संघका महिला हस्तिहरु भन्छन्– ‘नेतृत्वकाे जिम्मेवारी दिनुहोस् हामी हाक्छौं’

-महेश्वरी कुँवर-

नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका छनोटका लागि नेपाली काँग्रेसले नेतृत्वकर्ताको खोजिलाई तिव्रता दिएको छ । १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि पटक पटक म्याद थप गरे पनि महाधिवेशन तयारीको वातावरण बन्न नसकेपछि तत्कालिन अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिए पछि नयाँ नेतृत्वको खोजी कार्यलाई ने.का नेताहरुले तिव्रता दिएका हुन् ।

संघलाई थप उर्जाशिल बनाउँदै महाधिवेशन सम्पन्न गर्न सक्ने नेतृत्व सहितको तदर्थ समिति गठनका गर्नलाई नेपाली कांग्रेसले गृहकार्य शुरु गरेको छ । नेपाल विद्यार्थी संघको नेतृत्वका लागि उमेर हदबन्दी लगाउने कि नलगाउने भन्ने बहस चलिरहेको बेला नयाँ नेतृत्व चयन कांग्रेसका लागि थप कठिन बन्दै गएको छ ।

उमेर हदबन्दीका पक्षधरहरुले ३२ वर्षलाई ने.वि. संघको राजनीति करियर मान्ने भन्दै ३२ वर्ष मुनीका विद्यार्थीलाई नेतृत्वमा ल्याउनु पर्ने धारणा राख्दै आएका छन् । अर्को तिर विद्यार्थीका लागि कुनै उमेरको हदबन्दी नहुने भन्दै नेतृत्वमा पनि सबै उमेर समुहका विद्यार्थीलाई सामेल गराउन सकिने तर्क राख्दै आएका छन् । यो बहससँगै नेतृत्व छनौटमा फरक फरक मतहरु देखिएका छन् ।

नेतृत्वमा पुरुष की महिला
नेपाल विद्यार्थी संघको स्थापना कालदेखि हालसम्मका महाधिवेशनले चयन गरेका र मातृ पार्टी नेपाली काँग्रेसका नेतृत्वले चयन गरेको सबै जसो नेतृत्व पुरुषहरुले नै गरेको छन् । महिलालाई नेतृत्वमा उचित स्थान दिने सबै जसो संगठनको निति भए पनि ने.वि. संघमा हालसम्म महिलाको हातमा नेतृत्व परेको छैन । महिला नेतृलाई उपाध्यक्ष महामन्त्री, कोषाध्यक्ष र सदस्यमा स्थान दिएपनि ने.वि.संघको अध्यक्षको जिम्मेवारी दिइएको भने पाइन्दैन ।

यस पटक भने महिला नेतृहरु ने.वि.संघ हाक्ने जिम्मेवारी महिलाले पाउनु पर्ने भन्दै आ आफ्नो उमेद्वारी घोषणा गरि सकेका छन् । पुरुष जतिकै आफुहरु पनि संगठनलाई चलायमान बनाउन सक्षम भएको दावि उनीहरुको छ । पुरुषले भन्दा महिलाले संगठनलाई अझ ससक्त बनाउन सक्ने उनीहरुको भनाइ छ ।

ने.वि. संघको नेतृत्व : महिलाको पनि अपनत्व
ने.वि. संघको नेतृत्व ३२ वर्ष माथिको या तल्लो उमेर समुहले पाउने भन्ने विवादन नशुल्झीए पनि महिला नेतृहरुले ३२ वर्ष तल माथि दुवै तिर ने.वि. संघको नेतृत्व गर्ने पंक्ति तयार रहेको जीकिर गर्दै आएका छन् । ने.वि. संघको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाउनु पर्ने भन्दै कृष्ण कुमारी बस्नेत, कौशिला भट्ट, सम्झना खत्री, अम्बीका चलाउने, रमा थापा, जमुना ढकाल लगायतका नेतृहरु अध्यक्षका पदका लागि अगाडी सरेका छन् । नेतृत्व तहबाट आफुहरुलाई जिम्मेवारी दिनु पर्ने यी महिला नेतृहरुको दावि छ ।

यसकारण तयार छन् महिला हस्तीहरु
पशुपति बहुमुखी क्याम्पस चाबहिलको स्व.वि.यू. कोषाध्यक्ष,उपाध्यक्ष हुँदै नेपाल विद्यार्थी संघ एकाई अध्यक्षको जिम्मेवारीसँगै खटिएकी कृष्ण कुमारी भरखरै विगठित केन्द्रिय समितिको उपाध्यक्ष हुन् । नेपाली कांगे्रसको महाधिवेशन प्रतिनिधि समेत रहेकी कृष्ण कुमारीले आफुलाई उपाध्यक्षको जिम्मेवारीले खारेको भन्दै ने.वि. संघको नेतृत्व अब आफुले पाउनु पर्ने अठोट सहित अगाडी बढेकी छिन् ।

महिलालाई एकपटक संघको नेतृत्व दिएर गतिशिल ने.वि. संघ बनाउने बाटोमा सहयोग गर्न नेतृत्व तहलाई आग्रह गरेकी छिन् । त्यसैगरी पद्यकन्या बुहुमुखी क्याम्पस बागबजारको ने.वि. संघ एकाई समिति, अध्यक्ष, केन्द्रिय समिति सदस्य हुँदै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी कौशिला भट्ट डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका प्रमुखका रुपमा निर्वाचित जनप्रतिनिधि हुन् ।

संगठनमा निरन्तर सक्रिय भट्टले नेपाली विद्यार्थी फाँटमा महिलाको वाक्लो उपस्थितिसँगै ने.वि. संघको नेतृत्वमा महिला आउनु पर्ने तर्क राख्छिन् । नेतृत्वतहलाई उनले महिलाको नेतृत्वमा मात्र संघमा देखिएका गुट र उपगुटलाई चिर्न र महाधिवेशन सम्पन्न गर्न सकिने भन्दै महिलालाई नै नेतृत्वमा पु¥याउन आग्रह गरेकी छन् ।

उमेरहरुका कारण ३२ वर्ष मूनीकालाई नेतृत्वमा लैजाने हो भने पनि हामी तयार छांै उनले भन्ने गरेकी छिन् । त्रिभुवन विश्वविद्यालय किर्तिपुरकी एकाई अध्यक्ष सम्झना खत्रीले महिला नेतृत्वलाई नै स्थापित गर्ने तर्फ ध्यानदिनु पर्ने बताउँदै आएकी छिन् । आफु केन्द्रिय अध्यक्षका लागि तयार रहेको भन्दै संघको नयाँ इतिहास रच्न पनि महिलालाई नेतृत्व दिनु पर्नेमा उनले जोड दिएकी छिन् । त्यसै गरी पद्यकन्या बहुमुखी क्याम्पसकी इकाई समिति सदस्य, सचिव हुँदै केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेकी रमा थापाले ने.वि. संघको नेतृत्व गर्न आफु तयार रहेको बताएकी छन् ।

विद्यार्थीहरुका शैक्षिक मुद्दा, देशको शिर्ष नीति र जिवन उपयोगि शिक्षाका लागि अब महिलाले नेपाली विद्यार्थीहरुको दरिलो संगठनने.वि. संघको नेतृत्व लिनु पर्नेमा जोड दिन्छिन् । संगठन हाक्ने विषय उमेरले होइन विचार र कार्यक्रमले हो त्यसैले संघलाई गतिशिल बनाउन र शिक्षालाई सबैको पहुँचमा पु¥याउन आफु नेतृत्वमा आउनुपर्ने बताउँछिन् विद्यार्थी नेतृ अम्बिका चलाउने । अहिलेको अवस्थामा ने.वि. संघ भित्र पुरुष विद्यार्थी नेता मात्र होइन महिला विद्यार्थी नेता पनि नेतृत्वको दौडमा सरिक भएका छन् ।

नेतृत्वमा पहिला : पुरुषकी महिला
नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्ने यूगिन जिम्मेवारी सहित संगठन हाक्ने गतिशिल नेतृत्व कसले पाउने अहिले सबैतिर अड्कल मात्र काटिएका छन् । महिलासँगै पुरुष विद्यार्थी नेता पनि दौडधुप गरिरहेको अवस्था छ ।

यो परिवेशमा मातृपार्टी नेपाली काँग्रेसले यस पटक महिला विद्यार्थी नेतृलाई संगठनको बागडोर समाल्ने जिम्मेवारी दिएमा त्यसले नेपाली राजनीतिमा नयाँ इतिहास रच्ने मात्र होइन महिला शशक्तिकरणको नयाँ आयाम थपिने देखिन्छ ।

यसका लागि पुरुष विद्यार्थीहरुले महिला नेतृत्वलाई स्वीकार्दै संगठनलाई थप उचाइमा पुर्याउन सहयोग गर्नुको विकल्प छैन । हेरौं नेतृत्वका लागि पुरुष या महिला को हुन्छ पहिला ?