प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र बाँच्दैन :सभापति देउवा

प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र बाँच्दैन :सभापति देउवा

भीमदत्तनगर, १७ फागुन ।नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताउनुभएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचाँै जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताउनुभयो ।उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाउनुभयो । सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएकोे आरोप लगाउनुभयो । सो अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पु¥याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेट्न पुग्नुभएको थियो ।