

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उहाँहरुको शव टुँडिखेलमा ल्याइएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।
श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टुँडिखेलमा राखिएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाउनुभयो ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभयो ।
शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा बिहीबार शोक प्रस्ताव पारित गरेको थियो ।
मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । रासस