माघे संक्रान्तीका अवसरमा नेताहरुका यस्ता छन् सन्देश (हेर्नुहोस्)

माघे संक्रान्तीका अवसरमा नेताहरुका यस्ता छन् सन्देश (हेर्नुहोस्)

काठमाडौँ । अाज माघ १ गते माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति । अाजकाे दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा भव्य मेला समेत लाग्ने गर्छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । अाजकाे दिन कसले दिए कस्ताे शुभकामना हेर्नुहाेस् ।

-राष्ट्रपति, विद्यादेवी भण्डारी
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ÷आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।

यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले सन्देशमा भनेकी छिन्, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।”

उनले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्नसकोस् भन्ने कामना व्यक्त गरेकी छिन् ।

-उपराष्ट्रपति, नन्दकिशोर पुन

उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति÷माघी पर्व–२०७४ को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सूर्य धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफु विश्वस्त रहेको उपराष्ट्रपतिले बताए ।

सन्देशमा उनले भनेका छन् “हाम्रा विभिन्न मौलिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ् गर्न मद्दत पुर्याइरहेका छन् ।”

माघे संक्रान्ति÷माघी पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी उपराष्ट्रपतिले कामना पनि गरेका छन् ।

-प्रधानमन्त्री, शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले एक शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् ।

साथै, उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ”–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

-एमाले अध्यक्ष, केपी ओली

ओलीले माघ १ गते सम्पूर्ण नेपालीहरुको विशेष पर्व भएकाले धुमधामका साथ मनाउन शुभकामना दिएका छन् ।

उनले नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी भएकाले सबैले सदभाव कायम गर्नुपर्नेमा पनि शुभकामना सन्देशमा जोड दिएका छन् ।

-माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल 
प्रचण्डले भनेका छन्, ‘नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। माघे संक्रान्ति र माघी पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरुमा सहयोग र सहकार्यका लागि अपील गर्दछु।’

नेपाली काँग्रेस नेता, रामचन्द्र पौडेल
पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पुर्याएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने नेता पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।