‘रअ’को एजेन्ट बन्ने लोभमा ४ सय जना ठगिए, ६ पक्राउ

‘रअ’को एजेन्ट बन्ने लोभमा ४ सय जना ठगिए, ६ पक्राउ

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ रिसर्च एन्ड एनालाइसिस विङ्स को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द नौनिया, दोलखा सुरी–२ का सन्तोष कार्की र विनोद कार्की, काभ्रे गागर्चे–५ का पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बा–७ का चित्रबहादुर श्रेष्ठ र महाराजगञ्जकी गीता महर्जन छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले पाँच महिनादेखि ‘रअ’ एजेन्ट बनाइदिने भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए । महाशाखा प्रमुख दिवेश लोहनीले उनीहरुले तीनदेखि चारसय जनालाई ठगेको बताए ।

प्रहरीका अनुसार ठगीका मुख्य योजनाकार ४१ वर्षीय रमानन्द नौनिया हुन् । उनले आफूलाई नेपालका लागि ‘रअ’ प्रमुख बताउँदै आएको प्रहरीको भनाइ छ । अरु सबै उनका सहयोगी रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले नेपालसम्बन्धी गोप्य सूचना संकलन गर्न ‘रअ’ ले नयाँ संरचना बनाएको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूलाई दिएको भन्दै गोप्य रुपमा सर्वसाधारणलाई फारम भर्न लगाउँथे । सम्पूर्ण कागजात लिएपछि गोप्य ठाउँमा अन्तरवार्ता लिन्थे । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रत्येक एजेन्टलाई प्रतिमहिना न्यूनतम ७५ हजार रुपैयाँ तलव दिने भनिएको थियो । एजेन्ट बन्न राजी हुनेले पहिलो चार महिनाको तलब सुरुमै बुझाउनु पर्ने सर्त राखिएको थियो । सर्त मान्नेसँग सुरुमै चार महिनाको तलब बापत तीन लाख रुपैयाँ लिन्थे र ‘रअ’ को लेटरहेडमा नियुक्तिपत्र लेखि पठाउँथे ।