काठमाडौं,१४ फागुन भोलिदेखि सरकारी अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सरकारी चिकित्सक सङ्घ (गोदान) चेतावनी दिएको छ ।
सरकारी चिकित्सक सङ्घका प्रतिनिधी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग हिजो भएको वार्ता बिना निष्कर्ष टुङ्गिएसँगै भोलि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिएको सङ्घका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्य राज्यमन्त्री यादव सरकारी चिकित्सकको समस्या समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिन नसकेपछि वार्ता निष्कर्षमा नपुगेको अध्यक्ष पाण्डेको भनाइ छ ।
सरकारले शान्तिपूर्ण रूपमा दिएको दवाव र मागलाई पूरा गर्न गम्भीरता नदेखाएपछि सरकारी अस्पतालहरूको सेवा बन्द गरी आन्दोलन गर्न बाध्य भएको उहाँको दावी छ । सरकारी चिकित्सक सङ्घ (गोदान) ले अस्ति सरकारलाई माग पूरा गराउन ७२ घण्टे समयसीमा दिएको थियो ।