

काठमाडौं, १३ फागुन । नयाँबानेश्वरस्थित संसद भवनमा सुविधा सम्पन्न चमेना गृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयअन्र्तगतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले अबको ६ महिनाभित्रमा निर्माण सम्पन्नगर्ने गरी संसद भवनमा चमेना गृह बनाउन शुरु गरेको हो ।

करिब ९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा ओगट्ने चमेना गृहमा १ सय ८६ जना क्षमताको डायनिङ हल निर्माण हुनेछ । मुस्लिम समुदायकालागि समेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको समेत चमेना गृहमा व्यवस्था गरिएको छ ।
कुल २ करोड ७८ लाख लागतमा निर्माण हुनलागेको चमेना गृहको आज शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले शिलन्यास गर्नुभयो । भवनको शिल्यान्स गर्दै मन्त्री राईले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले अवको ६ महिना भित्रमा निर्माण सम्पन्न नभए ठेकेदार कम्पनी र अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिकास समितिका कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभयो।
मन्त्री राईले भन्नुभयो– ‘हाम्रो मुलुकमा निर्माणको जिम्मा लिन होडबाजी गर्ने तर समयमै निर्माण सम्पन्न नगर्ने प्रवृति हावी छ, तर अव पनि त्यस्तो प्रबृति दोहरिए सरकारले कडा कारवाही गर्नेछ ।’
समयमै काम गर्नेलाई पुरस्कृत गरिने र काममा ढिलाई गर्नेलाई कडा कारवाही गर्ने नीति सरकारले लिएको जनाउ दिदै मन्त्री राईले निर्माणका क्रममा गुणस्तरलाई समेत ध्यान दिन आग्रह गर्नुभयो ।

शिल्यान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले चेमना गृहलाई अपाङ्गमैत्री बनाउन आग्रह गर्दै प्राविधिक आवश्यकता परे मन्त्रालयले थप सहयोग गर्ने बताउनुभयो ।
समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले अबको ६ महिन भित्रमा चमेना गृह निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गर्दै निर्माणका क्रममा संरचनाको गुणस्तर र निर्माणपछि खानाको गुणस्तरमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।