

काठमाडौं १३ फागुन ।थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन जोडिन् । यस्तै सियोन झौले १८ रन जोडिन् ।नेपालकी सिता राना मगरले ३ तथा कृष्ण कुवरले १ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।
नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ ।पराजित चीन ६ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा छ ।
अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ ।