‘सीप दिने शिक्षा नीति ल्याइँदै’

‘सीप दिने शिक्षा नीति ल्याइँदै’

चिप्लेढुङ्गा, १२ फागुन ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक हातमा प्रमाणपत्र र एक हातमा सीप दिने गरी प्रदेश सरकारले शिक्षा नीति ल्याउन लागेको बताउनुभएको छ ।

 माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलास्थित माछापुच्छ्रे माविको स्वर्ण महोत्सव समापन समारोहमा उहाँले अहिलेको शिक्षाले बेरोजगार मात्रै उत्पादन गरेको हुँदा प्राविधिक विश्वविद्यालय खोल्ने सोच बनाइसकेको जानकारी गराउनुभयो । उहाँले यस वर्ष प्रदेश सरकारले छ हजार युवालाई निःशुल्क व्यावसायिक तालीममार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापा, संविधानसभा सदस्य सीता गिरी, माछापुच्छ्र«े गाउँपालिकाका उपाध्यक्ष कृष्ण दवाडी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति कृष्ण केसी, नेकपा नेत्री मीनाकुमारी गुरुङ, व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल आचार्यलगायतले प्राविधिक शिक्षा सञ्चालनमा जोड दिनुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न चन्दादातालाई सम्मान गरिएको थियो भने विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

स्वर्णमहोत्सव अर्थ समितिका संयोजक बमबहादुर गुरुङले विभिन्न ठाउँमा बस्ने पूर्वविद्यार्थी तथा अभिभावकबाट रु एक करोड ५९ लाख सङ्कलन भएको र सो ब्याजबाट विद्यालय प्रशासनमा खर्च गरिने जानकारी दिनुभयो । प्रधानाध्यापक सन्तोष आचार्यले नर्सरीदेखि १२ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन भइरहेको जानकारी गराउनुभयो । विद्यालयमा हाल ६३२ विद्यार्थी र ३२ शिक्षक कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।