आज महाअष्टमीव्रत, भद्रकाली भगवतीको उपासना गर्ने दिन २०७४ आश्विन १२ गते

आज महाअष्टमीव्रत, भद्रकाली भगवतीको उपासना गर्ने दिन २०७४ आश्विन १२ गते

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य

आज विक्रम संवत् २०७४ साल आश्विन १२ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को महाअष्टमी तिथि वेलुका ७।२७ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । मूल नक्षत्र दिवा १२।१८ बजेसम्म रहने छ । यसैगरी आज सौभाग्य योग र भद्रा करण रहेको छ । सूर्योदय प्रातः ५।५५ बजे छ भने सूर्यास्त बेलुका ५।५२ बजे हुने छ । आज बजेसम्म चन्द्रमा धनु राशिमा रहने छन् ।
आज दशैँको महाअष्टमी हो । आज महागौरी भगवतीको उपासनासँगै भद्रकाली देवीको विशेष पूजा अर्चना गरिन्छ । यस दिन सिंहपूजा,भगवती देवीको षडङ्गपूजा,शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना हुने गर्दछ । विशेष बलि प्रदान पनि गरिन्छ ।
देवी माहात्म्य अनुसार असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन पनि यही दशमी भएकाले भगवतीका चरित्रलीला श्रवण गर्दै यो पर्व मनाउने गरिन्छ । दसैमा विशेष गरी दुर्गा देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमी सम्मका नवरात्रको महिमा विशेष छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले उक्त समयको नवरात्रलाई बोधन नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रहिआएको छ ।

सम्पर्क : ९८०३३४४४६४