

काठमाडौँ, ५ फागुन ।नेपाली काँग्रेसले संसदीय सुनुवाइ विशेष समितिको आजको बैठक बहिष्कार गरेको छ ।
माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति आपत्ति जनाउँदै समितिको सिंहदरबारमा बसेको बैठकमा काँग्रेस सदस्यहरू अनुपस्थित भएका हुन् । दुई साताअघि बसेको सुनुवाइ समितिको बैठकलाई पनि काँग्रेसले बहिष्कार गरेको थियो । संवैधानिक परिषद्को बैठकका निर्णयप्रति विरोध रहेकाले उपस्थित नभएको काँग्रेस सांसदहरूले बताएका छन् । अब हुने बैठकमा पनि सहभागी नहुने काँग्रेसले जनाएको छ ।
यसैबीच संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ पर्सि मङ्गलबार गर्ने भएको छ । सुनुवाइ समितिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने ४ सांसद छन् । १५ सदस्यीय समितिको अर्को बैठक पर्सि बस्नेछ ।