काठमाडौँ, ५ फागुन ।सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
कर्मचारी समायोजनको विरोध गर्दै उनीहरूले राजीनामा दिने चेतावनी दिएका हुन् सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरूको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको हो ।
पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ११ औँ तहसम्मका चिकित्सकलाई प्रदेश र गाउँपालिकामा नै खुम्चाउने र सरुवा, बढुवा नगर्ने नियतले समायोजन गर्न खोजिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले गत पुस २९ गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ ।
तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित भएका हुन् ।