


खेलकुद केही हदसम्म नाटकीय हुन्छ। तर दुई प्रतिद्वन्द्वी कोरियाको हकमा शायद त्यो झन् नाटकीय हुन्छ।
दुई वर्षयता दुई मुलुकबीच भएको पहिलो उच्चस्तरीय वार्तापछि सन् २०१८ को शीतकालीन ओलिम्पिक्समा उत्तर कोरिया आफ्नो एउटा टोली पठाउन सहमत भएको छ।
उसको टोलीमा खेलाडी, समर्थक र अधिकारीहरू हुनेछन्।
तर खेलकुदले सधैँ न्यानो सम्बन्धतर्फ नै डोर्याउँछ भन्ने छैन।
तस्वीर कपीराइटGETTY IMAGESविगतमा दक्षिण कोरियामा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेल भइरहँदा उत्तर कोरियाले घातक आक्रमण गरेका दृष्टान्तहरू छन्।
सन् १९८७ मा बग्दादबाट सोलका लागि उडेको कोरियन एयरलाइन्सको उडान नम्बर ८५८ मा दुईजना उत्तर कोरियाली जासुसले एउटा बम राखे।
आबुधाबीको ट्रान्जिटमा उनीहरू उक्त विमानबाट ओर्लिए।
कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?
त्यसको केही घण्टापछि एण्डमन् सागरमाथि बम विस्फोट भयो र विमानमा रहेका सबै १ सय १५ जना मारिए।
त्यसबेला दक्षिण कोरियाले सोलमा सन् १९८८ को ओलिम्पिक्स खेलकुद आयोजना गर्ने तयारी गरिरहेको थियो र त्यो हुन नदिन उत्तर कोरिया दृढ थियो।
तस्वीर कपीराइटNEWS1बीबीसीसँगको एउटा अन्तर्वार्तामा बम राख्ने दुईमध्येकी एक जासुस किम् ह्युन् हीले भनिन्, “मलाई एकजना उच्च अधिकारीले सोल ओलिम्पिक्सअघि नै एउटा दक्षिण कोरियाली विमान हामीले खसालिदिनेछौँ भनेर भनेका थिए। त्यसो गर्दा दक्षिण कोरियामा अस्तव्यस्तता र अन्योल सिर्जना हुने उनको भनाइ थियो।”
दक्षिण कोरिया र जापानले सन् २००२ को फिफा विश्वकपको सह-आयोजना गरेका थिए जुन दक्षिण कोरियाली फुटबलका लागि एउटा महत्त्वपूर्ण मोड थियो।
त्यसअघि दक्षिण कोरिया विश्वकपमा एक पटक पनि जितेको थिएन।
तस्वीर कपीराइटNEWS1तर त्यसबेला उसले पोल्याण्ड, संयुक्त राज्य अमेरिका, पोर्चुगल, इटली र स्पेन जस्ता बलिया टोलीलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गर्यो।
दक्षिण कोरियाको सफलता र कोरियाली प्रशंसकहरूले आफ्नो टोलीलाई हौस्याउँदै गरेका तस्वीर, रातो पोशाकमा सोलको केन्द्रमा खुसियाली मनाउँदै गरिएका दृश्यले विश्वभर सञ्चारमाध्यममा स्थान पाए।
तर जुन २९ मा टर्कीविरूद्ध सेमिफाइनलको खेल भइरहँदा उत्तर कोरियाले आक्रमण गर्यो।
दक्षिण कोरियाली नौसेनाको एउटा पानीजहाजले ‘नदर्न् लिमिट लाइन’ भनिने उत्तरी सीमारेखा नाघेको आरोपमा प्योङ्याङ्का गस्ती डुङ्गाबाट उक्त पानीजहाजमाथि आक्रमण गरियो।
तस्वीर कपीराइटNEWS1त्यो हिंसात्मक नौसैनिक लडाइँमा ६ जना दक्षिण कोरियाली मारिए भने कम्तीमा नौजना घाइते भए।
कोरियाली युद्धका कारण छुट्टिन पुगेका दुई कोरियाका केही परिवारहरूबीच पुनर्मिलन गराउन उत्तर कोरिया सन् २०१४ मा सोलले इञ्चनमा एसियाली खेलकुदको आयोजना गर्ने तयारी गरेका बेला सहमत भयो।
कोरियाली प्रायद्वीपमा भएको विभाजनपछि छुट्टिन पुगेका परिवारबीचको पुनर्मिलन विरलै हुनेमध्येका घटना हो।
तस्वीर कपीराइटNEWS1तर एसियाली खेलकुद नजिकिँदै गर्दा खेलाडी तथा अधिकारीसहितको २ सय ७३ जनाको आफ्नो टोली पठाउनुअघि उत्तर कोरियाले सहभागी नहुने चेतावनी दिएको थियो।
टोलीमा उसले सेना र राजनीतिका तीन चर्चित अनुहार पठायो।
तस्वीर कपीराइटNEWS1अहिले आएर दुई कोरियाबीचको उच्च तनावपछि सन् २०१८ को शीतकालीन ओलिम्पिक्स सोलमा हुन लागेको छ।
सन् २०१७ मा उत्तर कोरियाले ६ वटा पारमाणविक र थुप्रै क्षेप्यास्त्र परीक्षण गर्यो।
फलस्वरूप केही दक्षिण कोरियालीले सम्भावित पारमाणविक हमलाको आशंकामा युद्धका बेला सुरक्षाका लागि चाहिने बन्दोबस्तीका सामानहरू भएको ‘वार सर्भाइभल ब्याग्स’ किनिसकेका छन्।
तर नयाँ वर्ष सन् २०१८ को शुभकामना दिने क्रममा उत्तर कोरियाली नेता किम् जङ्-अनको तर्फबाट सहमतिको संकेत आयो जब उनले फेब्रअरीमा दक्षिण कोरियाको प्युङ्चाङ्मा हुने शीतकालीन ओलिम्पिक्समा आफ्नो देशको टोली पठाउने बताए।
र, दुवै पक्ष वार्ताका लागि उत्सुक देखिए।
तस्वीर कपीराइटAFPबीबीसी कोरियाली सेवाकी हियङ् अन् किम् भन्छिन्, “यो धेरै चाखलाग्दो छ किनकि २५ महिनायता दुई कोरियाबीच कुनै उच्चस्तरीय वार्ता भएको छैन।”
राष्ट्रपति मून् जे-इनको उदारवादी दक्षिण कोरियाली सरकारको आशा छः दुई देशबीचको छलफलले खेलकुदभन्दा पनि अझ ठूलो कुराको शुरूवात गर्नेछ।
उनले भने, “कोरियाली प्रायद्वीपको निश्शस्त्रीकरणमा सम्झौता गरिनेछैन र कोरियाली प्रायद्वीपमा शान्ति हासिल गर्ने त्यो एउटै विकल्प हुनुपर्छ। यो बाटोमा म तपाईँसँगै हुनेछु र हामी त्यो बिन्दुमा पुग्नेमा म विश्वस्त तुल्याउँछु।”
दक्षिण कोरियाले शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा दुवै देशका टोलीलाई एकसाथ मार्च् गर्न सुझाएको छ।
सोलले कोरियाली युद्धका कारण छुट्टिएर दुई देशमा बसिरहेका परिवारहरूबीच भेटघाट गराउने प्रस्ताव समेत गरेको छ। -बिबिसिबाट