अमेरिकामा आपतकाल, विपक्षी अदालत जाने

अमेरिकामा आपतकाल, विपक्षी अदालत जाने

एजेन्सी, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा भइरहेका छन्।

सङ्कटकाल घोषणापत्र जारी गर्दै मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको अडान रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पको भनाइ छ । मेक्सिकोको सीमाबाट लागुऔषध कारोबारी र अवैध आप्रवासीहरुको आक्रमण भइरहेकाले पर्खाल लगाउन खोजेको बताउँदै अब त्यो समाधान हुने दाबी गरेका छन् ।

विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपतिको घोषणालाई शक्तिको दूरूपयोग भनेका छन्।ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए।

तर अमेरिकी संसद कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने भनेपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन्। तत्कालै वरिष्ठ डेमोक्र्याट नेताहरूले उक्त कदमलाई अदालतमा चुनौति दिने बताएका थिए।

यस घोषणाले ट्रम्पको पर्खाल निर्माण गर्ने योजनालाई अर्बौ डलर प्रदान गर्नेछ। ह्वाइट हाउसको रोज गार्डेनमा उक्त घोषणा गर्दै ट्रम्पले संकटकालीन अवस्थाले सीमा पर्खालका लागि ८ अर्ब डलर प्रदान गर्ने बताए।