दिउँसै चोरी हुने घटना बढे काठमाडौंमा, सुरक्षा सतर्कता उच्च 

दिउँसै चोरी हुने घटना बढे काठमाडौंमा, सुरक्षा सतर्कता उच्च 

काठमाडौँ, ४ फागुन । यो हप्ता काठमाडौँ उपत्यकामा लगातार सात वटा चोरीका घटना भएका छन् । तीमध्ये अधिकांश दिउँसोको समयमा भएका छन् । सुन्दा, पत्यार समेत नलाग्ने यस्ता चोरीका घटना दिउँसै हुन थालेपछि प्रहरीअधिकारी पनि अलमलमा परेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार दिउँसो बाँसवारी, सोमवार दिउँसो घट्टेकुलो, बुढानिलकण्ठ र कोटेश्वर, मङ्गलवार रातोपुल र तीनकुने, बुधवार सानेपा तथा बिहीवार टोखामा गरी पाँच दिनमा सात स्थानमा चोरी भएको छ ।

तीमध्ये कोटेश्वरस्थित अनु पौडेलको घरमा मात्र रातिको समयमा झ्यालबाट प्रवेश गरी चोरी भएको छ । दराजमा रहेको ३५ हजार नगद, सुनको गरगहना र ल्यापटप गरी तीनलाख ७५ हजार मूल्य बराबरको चोरी भएको पीडितको भनाइ छ ।

‘विगतका वर्षहरूमा रातिको समय र चाँडपर्वको बेला चोरीका घटना बढी हुन्थे’ महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा भन्नुहुन्छ, हिजोआज ठीक त्यसको उल्टो भएको छ । राति होइन दिनदहाडै चोरी हुने गरेको छ ।

विशेष गरी कार्यालय सयममा सबैजना काममा जाने हुँदा कोही नभएको मौकाछोपी दिउँसो घरकोठाको मूलढोका फोडेर र राति झ्याल खोलेर चोरी हुने गरेको छ ।

घट्टेकुलो, बुढानिलकण्ठ, सानेपा र वाँसबारीमा दिउँसो, रातोपुल र कोटेश्वर साइमार्गस्थित एक घरमा भने साँझ चोरी भएको छ । परिसर प्रमुख लामा भन्नुहुन्छ, ‘‘घरमा मानिस भएकै अवस्थामा पनि बिहान छोराछोरी स्कुल पु¥याउन जाँदा र साँझ लिन जाँदा पनि चोरी हुने गरेको छ । रातिभन्दा दिनमा चोरीका घटना बढी हुन्छन् ।’’

दिउँसो सबैजना काममा जाने भएकाले झ्यालभन्दा मुख्य ढोका फोडेर चोर्न सहज र सुरक्षित हुने गरेको पाइएको छ । चोरी अपराधको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार, पट्के चोरको मुख्य निशाना नगद र गरगहना नै हो । कपितयले ल्यापटप र मोबाइल पनि चोरी गरेको देखिन्छ । तर, सुनका गरगहना र नगदको तुलनामा जिन्सी वस्तु बोक्न र बिक्री गर्न गाह्रो हुने भएकाले सुन र नगद नै चोर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा प्रतिदिन बढिरहेको चोरी घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा यही माघ १५ गतेबाट विशेष अभियान सञ्चालन गरेको छ । सो अभियानका क्रममा १४२ जना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुमध्ये तीन महिला सहित २१ जनालाई चोरी मुद्दामा कारागार पठाइएको छ भने दुई महिला सहित १८ जना धरौटीमा छुटेका छन् । यस्तै १०१ जनामाथि सुक्ष्म निगरानी तथा अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ । सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा चिनजान गर्ने, नाता लगाउने, रङ्गरोगन गर्ने, कोठा खोज्न तथा आफन्त भेट्न आउने र कवाडी सामान सङ्कलन गर्नेको चोरीमा बढी नै संलग्नता छ । विभिन्न बहानामा घरकोठाको ‘रेकी’ गर्ने त्यसपछि उपयुक्त मौका दिउँसै चोरी गर्ने गरेको पाइएको छ ।

चोरी, लुटपाट, डकैती नियन्त्रण गर्न महानगरीय प्रहरी सक्रियता बढेसँगै अपराधीहरुले अपराधका योजना, कोर्डभाषा र समय समेत परिवर्तन गरेका छन् । अपराध महाशाखा ‘चोरी पिलर’ का प्रहरी निरीक्षक भरत थापा चोरी घटना बढेसंँगै अभियुक्त पनि त्यतिकै पक्राउ पर्ने गरेको बताउनुहुन्छ ।

उपत्यकामा दिउँसै चोरी हुनुमा स्वयम् पीडितको कमजोरी देखिन्छ । राति मस्त निद्राको बेलामा होइन, घरमा मान्छे भएकै बेला पनि चोरी हुन्छ । उहाँका अनुसार, घरकोठाको ढोका मजबुत पारेर होइन गरगहना तथा नगद दराजमा थुपारेर राख्दा चोरी हुने गरेको छ ।

उहाँले अपरिचित ब्यक्तिसँगको चिनजान, चोरी हुन सक्ने नगद तथा जिन्सी जन्य सामग्रीहरुको सुरक्षा ब्यवस्था र दिउँसो घरकोठाबाट बाहिरिदा छिमेकीलाई सम्झाउँदा चोरी घटना नियन्त्रणमा आउने जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।