

काठमाडाैं, ३ फागुन । कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै आन्दाेलनरत सरकारी चिकित्सक संघले आगामी फागुन ५ गते आइतबारदेखि आन्दोलनको स्वरुप फेरिने जनाएको छ ।
पटक-पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनको बेवास्ता गरेपछि आइतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने वा सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताएका छन् ।
कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकले गएको आइतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।