वागमती पिडितलाई जनप्रतिनिधिको साथ, आन्दोलन सशक्त हुने संकेत

वागमती पिडितलाई जनप्रतिनिधिको साथ, आन्दोलन सशक्त हुने संकेत

काठमाडाैं । वागमती पिडित संघर्ष समितिले आयोजना गरेको अन्तरक्रियामा जनप्रतिनिधिहरुले समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउनुका साथै पिडित किसानको पक्षमा न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ३ बाट संघीय संसदका सांसद कृष्ण राईले वागमती आयोजनाको नाममा पिडित किसानहरुको पक्षमा वर्षौं देखि आफूले आवाज उठाउँदै आएको बताउँदै न्यायका लागि प्रधानमन्त्रीको तहसम्म किसानहरुसँगै डेलिगेसन जान आफू तयार रहेको बताउनु भयो ।

प्रदेश सभाका सांसद रामेश्वर फुयाँलले अहिले पिडित किसानहरु एकताबद्ध भई अगाडी बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिनु हुँदै सबै पक्ष मिलेर अगाडी बढे अहिलेको बलियो सरकारले किसानलाई न्याय दिने बताउनु भयो ।

त्यसैगरी प्रदेश सभाका सांसद छिरिङ दोर्जे लामाले पिडित किसानहरुले दबाबमुलक कार्यक्रमहरुसँगै जिम्बेवार निकायमा डेलिगेसन तथा ध्यानाकर्षण गर्न जरुरी रहेको औंल्याउनु हुँदै त्यस्ता कार्यक्रममा जनप्रतिनिधिको पनि ऐक्यवद्धता रहने बताउनु भयो । कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष कृष्णहरी थापाले समस्या समाधानमा वर्षौं संघर्ष भइरहेकोले न्यायका लागि संघर्ष समिति, स्थानिय निकाय र जनप्रतिनिधिहरुले सशक्त ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं ८ का अध्यक्ष मनोज ढुंगानाले न्यायका लागि संघर्ष समितिको कार्यक्रममा ऐक्यबद्धता जनाउनुभयो ।

संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले समिति सबै पिडित किसान र जनप्रतिनिधिहरुलाई एकताबद्ध गर्दै आगामी दिनमा अझै कडा संघर्षका कार्यक्रम गर्ने दृढता व्यक्त गर्नुभयो ।