अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको भनिएको अपमानजनक भाषाबारे क्षमायाचना गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग माग गरेको छ।
संयुक्त राज्य अमेरिकास्थित एयु नियोगले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिप्रति आक्रोश र क्षोभ प्रकट गरेको छ।
उसले विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यताको ट्रम्पले अपमान गरेको जनाएको छ।
आप्रवासनबारे कंग्रेसका सदस्यहरूसँगको बिहीवार एउटा बैठकमा ट्रम्पले पछिल्लो टिप्पणी गरेको बताइएको छ।
उनको टिप्पणी हेइटी र एल साल्भाडोरसँग पनि सम्बन्धित छ।
तर त्यस्तो विवरण आएको केही समयपछि ट्रम्पले आफूले अशिष्ट भाषा प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेका थिए।
ट्रम्पको आरोपित टिप्पणीको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयसहितका क्षेत्रबाट व्यापक आलोचना भइरहेको छ।
ट्रम्प प्रशासनले अफ्रिकी मानिसहरूलाई गलत रूपमा बुझेको एयुले जनाएको छ।
ट्रम्पको आरोपित अभिव्यक्तिपछि बोट्स्वानाले अमेरिकी राजदूतलाई बोलाएर अशिष्ट र अपमानजनक भाषा प्रयोग गरिएका देशभित्र बोट्स्वाना पनि परेको वा नपरेकोबारे स्पष्टीकरण मागेको छ।
राष्ट्रसंघको मानव अधिकार निकायका प्रवक्ताले ट्रम्पका टिप्पणीहरू पुष्टि भए त्यो ‘स्तब्ध पार्ने’ र ‘लज्जास्पद’ भएको प्रतिक्रिया दिएका छन्।
अमेरिकाका लागि हेइटीका राजदूतले “अफ्रिकीहरूले फाइदा लिनका लागि आप्रवासीहरू अमेरिका पठाइरहेको भन्ने बुझाइ गलत भएको” बताएका छन्।
ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकमा ट्रम्पले किन अफ्रिकी देशका नागरिकहरूलाई अमेरिकामा आउन दिनुपर्यो भनी प्रश्न गरेको विवरणहरू आएका थिए। -बिबिसिबाट