काठमाडौंँ, २ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आवश्यक परामर्श गरी नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकपछि कुरा गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको विधान, राजनीतिक र आर्थिक प्रस्तावलाई बुधबार टुङ्ग्याउने भनिएकोमा छलफल जारी रहेकाले फागुन ९ गते बस्ने बैठकले अन्तिम रूप दिने बताउनुभयो ।
अब बस्ने बैठकमा पदाधिकारीहरुले आफ्नो धारणा राखेपछि बैठकले महासमितिले दिएको निर्देशन अनुसार सबै विषयलाई अन्तिम रूप दिने छ ।
बैठकमा उपसभापति विमलेन्द्र निधिले कार्यसमितिको तर्फबाट महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझावसहित परिमार्जन गरी बैठकमा पेश गर्नुभएको छ । साथै, काँग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।
बैठकमा पनि केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने नयाँ व्यवस्था गर्न नहुने धारणा पनि आएका छन् । यस्तै, एक पटक मात्रै आरक्षण राख्ने प्रस्तावको पनि विपक्षमा धारणा राखिएको छ ।
बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राख्नु भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।